गत शुक्रवार देखि प्रदर्शनमा आएको चलचित्र ‘२ रुपैयाँ’ आज बिहीबार दर्शकको लागी  रु .२ मा चलचित्र हेर्ने अवसर प्रदान गरेको थियो । चलचित्रको नाम सरह नै ‘२ रुपैयाँ’लाई केन्द्रबिन्दु बनाएर चलचित्र निर्माण टिम कम्पनी जी टु वान पिक्चर्सले रु. २ मा नै दर्शकहरूलाई चलचित्र देखाएको हो ।                                            

बिहीबार दिउँसो कमलपोखरीको कुमारी हलमा १२ बजेको सोको टिकट रु. २ मा नै खरिद गर्ने प्रावधान पहिलो १०० जना दर्शकका लागि लागू गरिएको थियो । तर दर्शकको अत्याधिक चापको कारण ५० टिकट थप गर्नु परेको निर्देशक असीम शाहले जानकारी दिए । 

बिहान ११ बजेबाट खोलिएको टिकट काउन्टरको लागी दर्शकहरु हलमा ७ बजेबाट नै लाइनमा बसेको कुमारी हल व्यवस्थापक विनोद पौडेलले बताए । 

‘हामीले चलचित्रको नाम २ रुपैयाँ राखेदेखि नै साथी–भाइहरूले ’२ रुपैयाँमा नै चलचित्र देखाउने होला नि’ भन्नुहुन्थ्यो । चलचित्र प्रदर्शन भएको १ हप्ता नपुग्दै हामीले साँच्चै नै यो योजना ल्याउन सफल भयौँ । हामीलाई आज दर्शकहरूको यो उत्साहले नै सफलताको पूर्ण आभास दिएको छ ।’ हलमा दर्शकको चाप देखेर दङ्ग बनेका निर्देशक असीम शाहले बताए ।

कुमारी हलमा दर्शकहरूसँग अन्तरक्रिया गर्न निर्देशक असीम शाह र कलाकार बुद्धि तामाङ पनि थिए । हलमा ‘२ रुपैयाँ’का कलाकार बुद्धि तामाङको क्रेज देख्न सकिन्थ्यो । 

चलचित्र ‘२ रुपैयाँ’ दोस्रो हप्तामा पनि सफलताका साथ प्रदर्शन हुनेछ  ।