‘कबड्डी ४’को ट्रेलर सार्वजनिक भएको छ । अघिल्ला तीन सिरिजमा मैयाँको प्रेम पाउन नसकेर बिरक्तिएका काजी (दयाहाङ राई) सँग शहरबाट गाउँको एक स्कुलमा पढाउन आएकी मिस शान्ति (मिरुना मगर) नजिक बनेपछि आउने उतार-चढावलाई ट्रेलरमा देखाइएको छ । रामबाबु गुरुङले निर्देशनमा तयार भएको फिल्ममा बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतको पनि अभिनय छ ।
फिल्मलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् । फिल्म जेठ १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।