आज बाट सिनेमा हलमा एक नेपाली फिल्म , दुई बलिउड र एक हलिउड फिल्म रिलिजमा आएका छन् l सौगात मल्ल र दिया पुन स्टारर फिल्म ‘मन्त्र’, अजय देवगण र अमिताभ बच्चन स्टारर बलिउड फिल्म ‘रनवे ३४’, बलिउडकै टाइगर श्राफ र नवाजुद्दिन सिद्धिकी अभिनीत ‘हिरोपन्ती २’ र हलिउडको ‘ब्याड गाइज’ आज बाट प्रदर्शनमा आएको हो l नेपाली फिल्म मन्त्रलाई र्खा सिरानचोक एन्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा फिल्म निर्माण गरिएको हो l खिलबहादुर गुरुङले फिल्म निर्देशन गरेका हुन् । साम्तेन भुटियाको कथा रहेको फिल्ममा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी छ । फिल्मले गोरखाको मनास्लु क्षेत्रको कथालाई भन्नेछ । सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पाश्वर्य संगीत समावेश फिल्ममा देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेका छन् l फिल्ममा नमिता घिसिङ, वीर बहादुर लामा, पासाङ टी शेर्पाको पनि मुख्य भूमिका छ । यसैगरी ‘हिरोपन्ती २’ लाई अहमद खानले निर्देशन गरेका हुन् l फिल्ममा टाइगरको अलावा तारा सुतारिया र नवाजुद्दीन सिद्धिकी पनि मुख्य भूमिकामा छन् भने अजय देवगणकै निर्देशन रहेको २ घण्टा २१ मिनेट लामो ‘रनवे ३४’मा अजयसहित अमिताभ बच्चन र रकुल प्रीत सिंहको मुख्य भूमिका छ । साथै ,हलिउड फिल्म ‘द ब्याड गाइज’लाई पिएरे पेरिफिलले निर्देशन गरेका हुन् l