रिलिज अगावै फिल्म 'कबड्डी ४' ले दुई करोड कमाएको छ l विश्व बजारमा राइट बिक्रीबापत फिल्मले दुई करोड रुपैयाँ कमाएको हो l  विदेशमा बिक्रीबापत प्राप्त दुई करोड र डिजिटल राइटसहित फिल्मको लगानी सुरक्षित भैसकेको छ l फिल्मले अघिल्ला तीन सिक्वेलभन्दा चौथोले विदेशबाट अहिलेसम्मकै उच्च कमाइ गरेको हो । युरोप, अमेरिका, अस्ट्रेलिया, बेलायत, न्युजिल्याण्ड, हङकङ, जापान र भारतमा राइट बिक्री भैसकेको छ l अस्ट्रेलिया र बेलायतमा उच्च मूल्यमा राइट बिक्री भएको हो l अब फिल्म विदेशी मुलुकका साथै नेपालमा एकै दिन रिलिज हुने छ l भारतमा चाहिँ नेपाल रिलिजको एक सातापछि मात्र फिल्म प्रदर्शन हुने छ । रामबाबु गुरुङले निर्देशनमा तयार भएको फिल्ममा बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतको पनि अभिनय छ । फिल्मलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् । फिल्म जेठ १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।