गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘२ रुपैयाँ’ले दर्शकहरुबाट निकै राम्रो प्रतिक्रिया बटुलिरहेको छ । चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि दोस्रो हप्तामा पनि दर्शकको चाप उति नै रहेको छ । यो संगै चलचित्र युनिटले आफ्नो पहिलो साताको ब्यापारिक रिपोर्ट सार्बजनिक गरेको छ । चलचित्रले पहिलो साता ४ करोडको ब्यापार गरेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रको 'कुटुमा कुटु' बोलको गीतको चर्चाले पनि चलचित्रको ब्यापारमा निकै सहयोग पुगेको छ । देशभरिको करिब ८० हलमा प्रर्दशन भएको दुई रुपैयाँले शुक्रबार र शनिबार मात्रै २ करोड ९ लाखको ब्यापार गरेको थियो । दर्शकबाट चलचित्रले पाएको प्रतिक्रियाका कारण दोस्रो हप्ता थप ब्यापार चुलिनेमा निर्माण पक्ष ढुक्क छन् ।
असिम शाह निर्देशित चलचित्रमा असिफ शाह र निश्चल बस्नेत मुख्य पात्रका रुपमा रहेका छन् । चलचित्रमा असिफ र निश्चलको जोडीलाई दर्शकले निकै मन पराएका छन् । चलचित्रमा असिफ र निश्चलका अलावा मेनुका प्रधान, राजन इशान, बुद्धि तामाङ, प्रतीकराज न्यौपाने, रवीन्द्र झा लगायतको भूमिका रहेको छ । चलचित्र अहिले पनि काठमाडौँ र उपत्यका बाहिर सम्पूर्ण हलमा प्रर्दशन भइरहेको छ ।