मह सञ्चारको साथै कलाकार किरण केसी (रातामकै)को प्रस्तुतिमा चलचित्र ‘शत्रु गते’ निर्माण हुने भएको छ । काठमाडौँमा शुक्रवार आयोजित कार्यक्रम बिच चलचित्रको निर्माण घोषणा गरिएको हो । चलचित्रलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् । ३७ वर्ष अगाडी ‘मह’ यानिकी बरिष्ट कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले मह सञ्चारको सुरुवात गरेका थिए । सोही समय देखि मह सञ्चारले विभिन्न टेलिचलचित्रको साथै केही ठुला चलचित्र निर्माण गरिसकेको छ । करिब १७ वर्षको अन्तराल पछि मह सञ्चारबाट ‘शत्रु गते’ निर्माण हुन लागेको हो । ‘पछिल्लो समय चलचित्रमा रङ्ग परिवर्तन भएको छ । एक हिरो र एक हिरोइन् भएर मात्र चलचित्र बन्छ भन्ने भनाई परिवर्तन भइसकेको छ । युवा कलाकारहरूको आगमन बढ्दो छ । युवा कलाकारको साथै पुराना कलाकारसँग काम गर्ने मौका मिलेको छ । यसले हाम्रो आयु बढाउछ् ’ कार्यक्रममा बोल्ने क्रममा हरिबंश आचार्यले बताए । पैसा कमाउ भन्दा पनि स्तरिय चलचित्र निर्माण गर्ने लागेको उनी बताउछन् । 


चलचित्र ‘शत्रु गते’मा नयाँ र पुराना कलाकार सहित जम्बो टोली रहेका छन् । जसमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, शिवहरी पौड्याल, पल शाह, आँचल शर्मा, किरण के.सी लगायतका कलाकरको अभिनय रहने छ । चलचित्रमा हरिवंश आचार्यको कथा तथा दिपकराज गिरी र प्रदिप भट्टराईको पटकथा, दीर्घ गुरुंगको छायाङ्कन, कविराज गहतराजको नृत्य तथा राजनराज सिवाकोटीको गीत सङ्गीत रहनेछ । कात्तिक ६ गतेबाट छायाङ्कन सुरु हुने चलचित्र ५० दिनसम्म चल्ने र ५० प्रतिशत छायाङ्कन तराईमा र बाँकी काठमाडौँ लगायतका विभिन्न स्थानमा हुने निर्माण पक्षले जनाएको छ । चलचित्रलाई रमिला आचार्य, यसोदा सुवेदी, नरेन्द्र कंसाकार, दिपकराज गिरी, दिपाश्री निरौला र शिवहरी पौड्यालको संयुक्त रूपमा लगानी रहेको छ ।