भवानी इन्टरटेन्मेन्टले आयोजना र एभरेष्ट ग्रुप अफ कम्पनीको मुख्य प्रायोजनमा सम्पन्न ‘मिस एभरेष्ट नेपाल’ २०१७ उपाधी दिप्ती श्रेष्ठले जितेकी छिन् । दोश्रो संस्करणको १२ प्रतिस्पर्धीलाई पछि पार्दे यस बर्षको मिस एभरेष्ट नेपाल २०१७ दिप्ती श्रेष्ठ भएकी हुन् । त्यस्तै दिप्ती न्यौपाने फ्रस्ट रनर्स अप र अन्जिता कडेल सेकेन्ड रनर्स अप घोषित भएका छन् ।


शनिबार साँझ काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न उक्त कार्यक्रम फेशन शोको शैलीमा परिचयात्मक, स्टाइलिस, प्रश्नउत्तर, टप ६ र अन्तिम चरणमा लिखित प्रश्नउत्तरको साथमा प्रतिस्पर्धीहरु स्टेजमा विभिन्न प्रस्तुतीहरुका साथ र्याम्पमा उत्रिएका थिए । प्रतिस्पर्धीहरुको मुल्याङ्कनमा नायक तथा गायक कोशिस क्षेत्री, मोडल लभिन अन्सारी, अलिना धोजु, दिक्पाल कार्की र सावित्री ढुंगानाले निर्णायकको भूमिकामा थिए ।

प्रतियोगिता अन्तर्गत बिभिन्न विधामा मिस डिसिप्लेन अलिशा डागी, बेष्ट वाक र मिस पङ्चुअल सिफरा मगर, बेष्ट हेयर पासाङ ल्याम्हु शेर्पा, मिस पर्सनालिटि रितिका डंगोल, बेष्ट स्माईल सोनु गिरी, बेष्ट स्किन आस्मा के.सी., मिस बब्ली र मिस पपुलर अन्जिता कडेल, मिस कन्फिडेन्ट दिप्ती न्यौपाने, मिस फोटोजेनिक र मिस स्टाईलिस दिप्ती श्रेष्ठ, मिस ट्यालेन्ट सुचित्रा कार्की, मिस फ्रन्डशिप वर्षा लामिछाने र अर्गनाईजर च्वाइस अनिषा तामाङले अवार्डहरु हात पार्न सफल भएका छन् ।

सगुन पाण्डेको कोरियोग्राफी तथा संयोजनमा कुल १२ जना प्रतियोगीहरुलाई १ महिनाभर प्रशिक्षण तथा विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी गराइएको थियो ।