नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । शनिवार काठमान्डौ स्थित सोल्टी होटेलको प्रीभेमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि हासिल गरेका हुन् ।

उपाधिका लागि भाइबरसँगै काठमाडौँका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराई भिडेका थिए ।

उपाधि बिजेता भाइबरले नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बिमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्ने मौका जितेका छन् ।

यस्तै दोस्रो भएका जेनिसले नगद पाँच लाख रुपैयाँ र विश्व भ्रमण गर्ने अवसर पाएका छन् भने तेस्रो भएका बाबु बिलिभरले १ लाख नगद सँगै विश्व भ्रमण गर्ने मौका जितेका छन् ।

८ हजार जनाको डिजिटल अडिसनपछि निर्णायकले ५ सय जनालाई भौतिक अडिसनको लागि छानेका थिए । भौतिक अडिसन पोखरा, चितवन, बुटवल, इटहरी र काठमाडौँमा भएको थियो ।

भौतिक अडिसनबाट निर्णायकले उत्कृष्ट १७ छानेर त्यसलाई पनि उत्कृष्ट १२ मा झारेका थिए । त्यसपछि भने भने हप्तामा १–१ जना गर्दै शो बाट प्रतिस्पर्धीहरू बाहिरिएका थिए ।

शो को निर्णायक गिरिस खतिवडा, मानस घले र बालेन शाह हुन् ।

साथै ‘नेपहपको श्रीपेच’को सफलता सँगै यस समूहले नयाँ ब्याटल शो ‘ब्याटल भूमि’को घोषणा गरिसकेका छन् ।