फिल्मलाई मध्य नजर गर्दै 'प्रकाश' निर्माण टिमले फिल्म प्रचारको लागि कमेडी टूर गर्ने भएको छ l फिल्म प्रचारलाई बलियो बनाउन निर्माण टिमले ६ शहरमा टुर गर्ने भएको हो l फिल्मले प्रमोशनल टूरका लागि बटुवा कमेडी र कमेडी टुकटुकसँग सहकार्य गरेको हो । ‘टेबल मुनीबाट’ नाम दिइएको कमेडी टूरमा फिल्मका अभिनेता प्रदीप खड्कासहित अन्य कलाकार र कमेडियनहरु आदर्श मिश्रा, आयुस श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुनेछन् । असार ३१ गते चितवनको भरतपुरबाट सुरु हुँदैछ भने भाद्र ५ गते काठमाडौंमा आएर टुङ्गिने छ । निर्माण पक्षले दिएको जानकारी अनुसार, असार ३१ र ३२ गते चितवनको भरतपुर, श्रावण ६ र ७ बुटवल, श्रावण १३ र १४ पोखरा, श्रावण २० र २१ बिराटनगर, श्रावण २७ र २८ हेटौंडामा र भाद्र ३, ४ र ५ गते काठमाडौंका तीन ठाउँमा टूर हुनेछ । ‘प्रकाश’ आगामी भदौ १० गतेबाट प्रदर्शन हुँदैछ । दिनेश राउतको निर्देशन रहने फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।