नायिका पूजा शर्मा फिल्ममा अनुबन्धित हुनु अघि जती आदर्शवादी कुरा गर्छिन् l तर ति सबै कुरा भने उनी ब्यवहारमा उतार्न गाह्रो मान्छिन् l प्रसंग रह्यो हाल सिनेमा घरमा प्रदर्शन भैरहेको उनी अभिनित फिल्म 'सम्झना बिर्सना' l रिलिज अघि उनले मिडियामा यस फिल्मको लागि राखेको पत्रकार सम्मेलनमा थुप्रै राम्रा कुराहरु गरिन् l यो फिल्मका लागि म सक्दो गर्छु । फिल्म हेरिसकेपछि दर्शकले मन पराउने वा मन नपराउने त्यो दोस्रो कुरा हो । तर, म मेरो फिल्मका लागि जे गर्न पनि तयार छु । म होम प्रोडक्सन र बाहिरको फिल्म भनेर कहिल्यै भन्दिनँ । साथै , यती सम्म उनले भनिन 'म मात्र सफल हुनुपर्छ भन्ने सोच छैन, निर्माता पनि सफल हुनुपर्छ । पूजाका कारण यस्तो भयो भनेर सुन्न नपरोस् भन्ने लाग्छ ।’ तर अहिले आएर उनले आफुले भनेका कुराहरु बिर्सेको फिल्म निर्माण टिमको भनाइ छ l निर्देशक निमेष प्रधान र निर्माता यतिबेला उनी सँग असन्तुष्ट देखिएका छन् l अहिले आएर आफुहरुलाई खाल्डोमा हालेको उनीहरुको भनाइ छ l फिल्म प्रचारमा समय नदिने र अनेकौँ कुराहरु मिडियामा गरेर फिल्म रिलिजको समयमा विवाद निकाल्ने जस्ता कार्यहरु गरेकोमा निर्देशक र निर्माताको चित्त दुखाइ छ l फिल्म रिलिज अगाडी मोफसलमा पनि प्रचार गर्ने तयारी रहेता पनि पूजाले नै भनेर रिलिज पछि जाने कुरा गरेको तर वास्तानै नगरेको बताएका छन् l साथै , फिल्म प्रदर्शनको मुखमा प्रचार छाडेर म्यूजिक भिडियोमा काम गर्ने र रिलिज कै दिन पनि दर्शकको प्रतिकृया बुझ्न सिनेमा घर गएको केही समय नबित्दै पूजाले ‘तपाईंहरु बस्दै गर्नुस् म आउँछु’ भनेर हिँडेको तर नआएको बताएका छन् । साथै आफुहरु पूजालाई कुरेर बसेको र एकैचोटी विमानस्थल पुगेपछि पो उहाँले ‘म त अष्ट्रेलिया जान लागेको’ भन्नुहुन्छ । फिल्म चल्नु र नचल्नु आफ्नो ठाउँमा छ । सबै फिल्म चल्छ भन्ने पनि छैन । पूजाको स्टारडमलाई हेरेर २० लाख रकम तिरेको तर उक्त रकम खोलामै बगाए सरह भएको निर्माण टिमको भनाइ छ l कलाकारहरुको यस्तो व्यवहारले बाटो नै बन्द गर्ने र नयाँ मेकरले भविष्यमा अरु फिल्म पनि नबनाउने प्रधानको भनाई छ । अभिनेता आकाश श्रेष्ठबाट प्रचार-प्रसारमा भरपूर सहयोग मिलेकोमा भने उनी सन्तुष्ट देखिए । निमेषलाई ‘सम्झना बिर्सना’ जति चलिरहेको छ त्यो फिल्मकै दमले चलिरहेको हो भन्ने लाग्छ । तर, भोलिका दिनमा पूजा शर्माले आफ्नो कारणले दुई/चार दिन फिल्म चलेको भन्न पनि बेर नलगाउने उनी बताउँछन् । निमेष प्रधानको निर्देशन रहेको फिल्ममा निर्माताको रुपमा आदित्य प्रधान र रेविका प्रधान रहेका छन् l निर्देशक प्रधान डेब्यु निर्देशन रहेको फिल्मलाई सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन गरिएको छ l फिल्ममा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ । फिल्मको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंको रहेको छ भने शिशिर राणा र निमेष प्रधानले मिलेर फिल्मको संवाद लेखेका हुन् ।