२०७३ ब्लकबस्टर फिल्म ‘छक्का–पञ्जा’को सिक्वेल हो ‘छक्का–पञ्जा २’ । चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । यही आउँदो फूलपाती अर्थात् असोज ११ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छक्का–पञ्जा २’लाई दीपकराज गिरीले निर्माण गरेका हुन् । चलचित्रको गीत, संगीत र ट्रेलर सार्वजनिक भैसकेको छ। विभिन्न कारण चर्चामा आएको सार्वजनिक गीत र ट्रेलरले फिल्मको राम्रो प्रचार गरेको छ।
के फिल्मले यो संस्करणमा आफ्नै प्रिक्वेलको रेकर्डहरु तोड्लारु विभिन्न कारण जोडिएका छन् जसले ‘छक्का–पञ्जा २’ प्रदर्शनमा सकारात्मक असर गर्छन्। यहाँ प्रस्तुत छ विश्लेषण जसले फिल्म चल्नु पर्ने कारणहरु प्रस्ट पार्छन्स्
१.सफल चलचित्रको सिक्वेल
नेपाली चलचित्र इतिहासमा सर्वाधिक कमाई गरेको रेर्कड बनाएको फिल्म हो ‘छक्का–पञ्जा’ । गत वर्ष भदौ १६ गते प्रदर्शन भएको ‘छक्का–पञ्जा’ले भन्डै १५ करोडको कमाई गरेको थियो । त्यसको साथै नेपाली चलचित्र हेर्ने खडेरी नै लागेको समयमा ‘छक्का–पञ्जा’ले अपार सफलताको साथ १०० दिन मनाएको थियो ।चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी थिइन् । कलाकार दीपकराज गिरीको कथा र अभिनय रहेको चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, नम्रता सापकोटा, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल लगायतका कलाकारको अभिनय रहेको थियो । चलचित्रमा समावेश भएको दुई वटा गीतहरुलाई पनि दर्शकले खुबै रुचाए । ‘छक्का–पञ्जा २’ सोही टिमले निर्माण गरेको चलचित्र हो । जसलाई दिपाश्री निरौलाले निर्देशन गरेकी छिन् ।
२.गीत–संगीतको चर्चा
जसरी होस् चर्चा त चर्चा नै हो। ‘छक्का–पञ्जा २’को पहिलो गीत ‘नाइलनको साडी’ सार्वजनिक भएसँगै विवादका कारण चर्चामा आयो । संगीत र शब्द चोरेको आरोप चलचित्र युनिटलाई लाग्यो ।
चलचित्र युनिटले आफ्नो गल्ती नभएको भन्दै माफी समेत मागिसकेका छन् । सार्वजनिक भएको छोटो समयमा नै ‘नाइलनको साडी’लाई दर्शकले युट्युबमा १ करोड पटक हेरिसकेका छन् । पहिलो गीतको चर्चा र विवाद सँगै दोस्रो गीत ‘झ्याम झ्याम’ रिलिज भयो । यो गीतमा पनि लोकभाका चोरीको आरोप लाग्यो ।
३. ट्रेलरलाई सकारात्मक प्रतिक्रिया
अघिल्लो चलचित्र जस्तै ‘छक्का–पञ्जा २’को ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएको छ । सस्पेन्सले भरपुर ट्रेलर हेर्दा ‘छक्का–पञ्जा २’मा केही नयाँ छ भन्ने पक्कै लाग्छ ।
ट्रेलरमा देखाइएको कमेडीले ‘छक्का पञ्जा’को झल्को दिन्छ । कलाकारहरूले बोल्ने संवाद पनि रमाइला छन् ।
४.मल्टिस्टारर चलचित्र
नेपाली दर्शकले रुचाएका हास्य कलाकारहरूको टिमवर्क हो ‘छक्का–पञ्जा २’। मल्टिस्टारर चलचित्रमा नायिकाको रूपमा प्रियंका कार्की, वर्षा राउत र स्वस्तिमा खड्का छन् । प्रियंका र वर्षा अघिल्लो संस्करणमा देखिएता पनि स्वस्तिमा ‘छक्का पञ्जा’ टिमको लागी नयाँ हुन् । तिनै जना नायिकाहरुको दर्शक माझ क्रेज राम्रो छ । त्यस्तै हाँस्यकलाकारमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौड्याल, बुद्धि तामाङ जस्ता कलाकारहरू छन् । यता नयाँ कलाकारको रूपमा स्वरूप पुरुष ढकाल, गौरव पहारी र आयुष्मान देशराज थपिएका छन् ।
५.चलचित्रको प्रमोसनमा अगाडि
प्रमोसनको लागी ‘छक्का–पञ्जा २’ टिम अगाडी छ । हालै सम्पूर्ण कलाकार सहित चलचित्र युनिटले मोफसल यात्रा गरेको छ । हेटौंडा, इटहरी, नारायणगढ, पोखरा, बुटवल लगायत ठाउँमा पुगेर फिल्म युनिटले फिल्मको प्रचारात्मक एवं मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्यो। छक्कापञ्जा हेरेका दर्शकका लागि फिल्म युनिटले गरेको प्रचारका कारण नयाँ संस्करण बारे पनि कौतुहलता जगाएको छ।
रुचाएका कलाकारहरू एकै चलचित्रमा एकै साथ हुँदा प्रमोसनको लागि अझ सजिलो भएको छ । देश दौडाहाको समयमा दर्शकको उत्साहजनक सहभागी भएको कारण निर्देशक दिपाश्री निरौला दङ्ग छिन् । भन्छिन् ‘दर्शकको यति बेला साथ कन्र्सटमा पाइन्छ भनेर सोचेका नै थिएनौं । सोचेको भन्दा धेरै नै राम्रो भयो । हामी प्रमोसनमा सफल भयौं’ ।