दुर्गम मनिने ठाउँ जुम्लामा फिल्म `प्रकाश´ को प्रिमियर गरीने भएको छ । भदौ ५ गते जुम्लामा वर्ल्ड प्रिमियर हुन लागेको हो । जुम्लामा सिनेमा हल भने छैन । तर निर्माण टिमले गाँउको मोक्ष माध्यमिक विद्यालयको प्राङ्गणमा प्रोजेक्टरमार्फत् फिल्मको प्रिमियर गर्ने छ । प्रिमियरमा सहभागी हुन फिल्मका लेखक विकास सुवेदीसहितको टिम जुम्ला जानेछ । स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुका साथै सिंगो गाउँबासीलाई फिल्म हेर्न निम्ता दिइएको छ ।
निर्देशक दिनेश राउतको निर्देशन रहेको फिल्म विनिश इन्टरटेनमेन्टको ब्यानरमा निमार्ण भएको छ l फिल्ममा प्रदीप खड्का र रेणु योगीको मुख्य भूमिका रहेको छ l साथै, यसै फिल्म बाट ठुलो पर्दामा रेणुले डेब्यु गरेकी हुन् l विकास सुवेदीले लेखेको फिल्मको कथाले शिक्षक बन्न संघर्ष गर्ने एक युवाको कथा बोल्ने छ l अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्ममा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, नीरज पन्थी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । महेन्द्र अधिकारीको लगानी रहेको फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् l तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत ,प्रकाशमा उत्तम न्यौपानेको साउन्ड, जीवन थापाको सम्पादन फिल्ममा समावेश रहेको छ । यहि भदौ १० गतेबाट फिल्म प्रदर्शनमा आउदै छ l