फिल्म ‘छड्के २’ ले एक पोस्टर सार्वजनिक गरेको छ । जसमा फिल्मका मुख्य कलाकार अभिनेता अनमोल केसीलाई फिचर्ड गरीएको छ ।पोस्टमामा अनमोल अनमोल एंग्री अवतारमा प्रस्तुत छन् । लामो कपाल र शरीरभरी अनौठो किसिमको ट्याटु खोपेका उनले मुखमा चुरोट च्यापेका छन् । अनुहार रगतले पोतिएको छ भने उनको हातमा रगत लागेको धारिलो हतियार पनि देखिन्छ । अनमोल उक्त लूक्सलाई दर्शकले रुचाएका छन् । निगम श्रेष्ठको निर्देशन रहेको फिल्मको शूट अहिले चितवनमा धमाधम भैरहेको छ । फिल्ममा रोविन तामाङ, कमलमणि नेपालको पनि मुख्य भूमिका छ । निर्माण टिमले अनमोलको अपोजिटमा अभिनेत्रीको छनोट गरिसकेको भए पनि नाम भने सार्वजनिक गरेको छैन । ६० दिनको सेड्युल राखिएको फिल्म चितवनपछि मुस्ताङमा खिचिनेछ । फिल्म निर्माणमा काभ्रे फिल्म्स, मेधा डिजिटल र निर्भाना फिल्म स्कूलले सहकार्य गरेका छन् । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल कार्यकारी निर्माता रहेको फिल्मको लेखन निर्देशक श्रेष्ठ स्वयंको हो ।