निश्चित एक जातीय समूहको कला, संस्कृति, लजवलाई लिएर व्यंग्य गरेको भन्दै स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी दिनेश मैनालीले सिंहलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए ।केही समयअघि सिंहले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यङ्ग गरिएको थियो ।सोही विषयलाई लिएर नेवार समुदायका व्यक्तिहरूले उजुरी दिएपछि सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसैबीच, सिंहले माफी माग्दै युट्युबबाट भिडियो हटाइसकेका छन् । उनले कसैमाथि अपमान गर्ने उद्देश्य नभएर रमाइलोका लागि मात्रै व्यंग्य गरेको प्रतिक्रिया दिएका छन् ।  सिंहलाई जिल्ला प्रहरी कार्यालय टेकुले काठमाडौं जिल्ला अदालतमा पठाएको छ । उनी विरुद्ध विभिन्न ७ वटा मुद्दा दर्ता भएको छ ।