शुक्रवारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ले पनि बक्स अफिसमा सुखद् व्यापार गरेको छ । हलमा दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।  क्यूएफएक्सको लबिम, छाया सेन्टर, सिभिल मलमा दुवै फिल्म दिउँसैभर लगभग हाउस फुल थिए । बिग मुभिज, एफक्यूब, विएसआर, वान सिनेमाज् लगायतमा पनि दर्शकको उपस्थिति राम्रो थियो ।साथै सिंगल थिएटरमा पनि यि फिल्मलाई दर्शकको अभाव थिएन । दुवै फिल्मको कथावस्तु र कलाकारहरूको अभिनयलाई दर्शकले रुचाएका छन् ।ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथा भनेको छ ।  फिल्ममा नायिकद्दय केकी अधिकारी , आँचल शर्मा र नायकद्दय मुकुन भुसाल र कुशलको अभिनय रहेको छ साथै हिउँवाला गौतम, सङ्गम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुसाललगायतको पनि अभिनय रहेको छ ।   भिमनिधि तिवारीद्वारा लिखित कृतिमाथि बनेको फिल्मको  पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको ‘झिँगेदाउ’को सह-निर्मातामा सुशील दाहाल र ईश्वर घिमिरे छन् ।  विष्णु कल्पितको छायांकन रहेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् ।  यसै गरी फिल्म "सम्हालिन्छ कहिले मन" लाई पनि दर्शकले अत्यधिक रुचाएका छन् । त्रिकोणात्मक प्रेमकथा बोलेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । फिल्ममा  पूजा, आकाश र सोनम  तोप्देनको साथमा सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारको अभिनय रहेको छ । लन्डन, स्कटल्यान्ड र वेल्समा छायाङ्कन गरिएको ‘सम्हालिन्छ कहिले मन’ एबी इन्टरनेशनल ब्यानरमा निर्माण भएको हो । एबी इन्टरनेशनलले यस अघि बलिउड अभिनेत्री सन्नी लियोनी फिचर्ड फिल्म ‘पासवर्ड’ निर्माण गरेको थियो । फिल्ममा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको सङ्गीत, सौरभ लामाको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्ममा डेब्यु अभिनेता सोनम तोप्देनको अभिनयले दर्शकलाई तानेको छ ।