१२ बर्षे जनआन्दोलनको घटनालाई मुख्य बिषय बस्तु बनाइएको चलचित्र ‘तान्द्रो’को ट्रेलर सार्वजनिक भएको छ । सत्य घटनामा आधारित रहेको चलचित्रमा अभिनेता दयाहाङ राईको मुख्य भुमिका रहेको छ । बिभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सबमा सहभागी जनाइसकेको ‘तान्द्रो’ नेपालमा भने कात्तिक २४ गते प्रदर्शन हुने भएको छ ।
२०६० सालको जनआन्दोलनमा माओवादी लडाकु रहेका गंगा बहादुर लामाको कथालाई चलचित्रमा उतारिएको छ । आफुले भोगेको दुख, देखेको सपनाहरुको संग्रह स्वरुप लामाले ‘स्मृतीका डोबहरु’ नामक किताव लेखेका छन् । सोही कितावबाट नै ‘तान्द्रो’ चलचित्र तयार भएको हो । चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका छन् भने शतिस कुमार गौतम चलचित्रका निर्माता हुन् । तान्द्रोलाई निश्चल बस्नेतको ब्ल्याक हर्स पिक्चर र रामबाबु गुरुङको सिनेमा आर्टले संयूक्त रुपमा निर्माण गरेको हो । चलचित्रमा दयाहाङको साथै रामबाबु गुरुङ, बुद्धी तामाङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ । उपेन्द्र सुब्बाको कथा, रामबाबु गुरुङको संवाद रहेको चचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।