नेपाली चलचित्र जगतमा आस गरिएकी नायिका मध्ये पछिल्लो समय अग्रस्थानमा नायिका वर्षा राउत छिन् । हिट चलचित्रको ह्याट्रिक मारेकी वर्षाले एक वर्षमा नै तिन वटा हिट चलचित्र दिर्इसकेकी छिन् । जसमा ‘नाई न भन्नु ल -४’, ‘छक्का–पञ्जा’ र ‘जात्रा’ पर्छन् । यस वर्ष पनि हिटको स्वाद चाख्ने दाउमा रहेकी वर्षा भने यति बेला अन्योलमा छिन् । अन्योलको कारण भने आफू अभिनित दुई चलचित्र एकै दिन प्रदर्शन हुनु हो । गत वर्षको ब्लकबस्टर चलचित्र ‘छक्का–पञ्जा' काे सिक्वेल’ यही असोज ११ गते फूलपातीको दिन प्रदर्शन हुदैँ छ । 'छक्का–पञ्जा २' को लागी वर्षाले गरेको मेहनत चलचित्रको ट्रेलरमा देखिन्छ भने यस वर्ष उनी प्रमोसनमा जोडतोडले लागेकी छिन् । फरक गेटअप र चरित्रमा देखिएकी वर्षालाई ‘छक्का–पञ्जा २’ले करियर अझ उकालो लाग्नमा मद्दत गरिदिनेमा उनी ढुक्क छिन् । तर, सोही मितिमा वर्षाले आस गरेको अर्को चलचित्र ‘मेरो पैसा खोइ’ पनि प्रदर्शन हुने भएको छ । प्रदर्शन हुनको लागी हप्तादिन समेत बाँकी नहुदा निर्माण पक्षले ‘मेरो पैसा खोइ’ सोही मितिमा ल्याउने तय गरेको हो । आइतबार चलचित्रको ट्रेलर आउट भइसकेको छ । जसमा वर्षालाई एक यौनकर्मीको भूमिकामा देखाइएको छ । सोझी भूमिका देखिरहेकी वर्षालाई दुई चलचित्र ‘छक्का–पञ्जा २’ र ‘मेरो पैसा खोइ’बाट दर्शकले वर्षाकाे नयाँ रुप देख्न पाउने छन् । तर, निर्माता–वितरकको असमझदारीको कारण कतै वर्षाको करियरमा धक्का त लाग्ने होइन भन्ने यतिबेला सिने जगतमा टिकाटिप्पणी हुन थालको छ । सायद वर्षालाई ‘मेरो पैसा खोइ’ सोही मितिमा रिलिज हुन लागेको चित्त बुझेको छैन। त्यसैले उनले ‘मेरो पैसा खोइ’को  ट्रेलर रिलिज भइसक्दा पनि अाफुले प्रयाेग गर्ने सामाजिक सञ्जालको कुनै भित्तामा सेयर गरेकी छैनन् ।