फिल्म ‘भागवत् गीता’ निर्माण अगावै विवादमा तनिएको छ । झरना थापाको निर्देशन रहने फिल्मलाई हिन्दूवादी संस्थाले विवादमा ल्याएको हो । हिन्दू जागरण नेपालले उजुरी पत्र बुझाउदै अन्तरजातीय प्रेमकथामा श्रीमद् भागवत् गीता जस्तो पवित्र नाममाथि फिल्म निर्माण हुन लाग्नु दुष्कृत्य (अनुचित कार्य) रहेको बोर्ड अध्यक्ष भुवन केसीलाई भेट गरेर पत्र बुझाएको हो । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा र हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायद्वारा संयुक्त हस्ताक्षरीत उजुरी पत्रमा लेखिएको छ, ‘झरना थापाज्युले ‘भागवत् गीता’ नाम राखेर जसमा अन्तरजातीय प्रेमकथामा आधारित भन्ने कुरा समाचारहरुमा आएको छ । यस्ता दुष्कृत्यलाई दोहोर्याउन खोजेको स्पष्ट देखिन्छ । त्यसैले यदि श्रीमद् भागवद्को पवित्र नाम र ग्रन्थको महत्व दर्शाइने र आघात नपुग्ने गरि फिल्मका दृश्य छन् भने मात्र प्रसारण होस् ।’ दशैंको फूलपातीबाट छायांकन सुरु गर्ने तयारी गरिएको फिल्ममा सुहाना थापाको मुख्य भूमिका रहनेछ ।सुनिल कुमार थापाले फिल्म निर्माण गर्ने लागेका हुन् ।