बलिउड फिल्म ‘उचाइँ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार निर्माण कम्पनी राजश्रीको यूट्युब च्यानलबाट ट्रेलर सार्वजनिक गरेको हो । नेपालको हिमाली क्षेत्रहरुमा छायांकन भएको फिल्मको ट्रेलरमा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर र बोमन इरानीलाई देखाइएको छ । 
 अगामी ११ नोभेम्बर २०२२ अर्थात् कात्तिक २५ गतेबाट प्रदर्शनमा आउन लागेको ‘उचाइँ’को २०७८ सालको कात्तिकमा नेपालमा छायांकन भएको थियो । नेपालमा फिल्मको छायांकनका लागि २० करोड खर्च भएको थियो ।
 

 

बलिउडका भेट्रान निर्देशक सूरज बडजात्याद्वारा निर्देशित यस फिल्ममा नेपाली कलाकारहरु परमिता राज्यलक्ष्मी राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी लगायतको पनि अभिनय छ । परमिताले फिल्ममा बलिउड अभिनेत्री नानी गुप्ताको डमी पात्र निभाएकी छन् ।