निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म "के घर के डेरा" सिनेमा घरमा प्रदर्शन भइरहेको छ ।  काठमाडौँमा घर हुने र डेरामा बस्नेको कथालाई पर्दामा उतारिएको फिल्मलाई दर्शकले अत्यधिक रुचाएका छन् ।  कलाकारको अभिनय देखि फिल्मको कथावस्तुले दर्शकलाई तेश्रो हप्ता सम्म आइपुग्दा पनि मज्जाले सिनेमा घर सम्म तानेको छ । फिल्मका मुख्य पात्रहरू अभिनेता दयाह्याङ राई , विपिन कार्की र प्रभाकर न्यौपानेको अभिनयलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । फिल्मको मेरुदण्ड भएर काम गरेका तिन कलाकारमा विपिन र दया दर्शकको नजरमा थिए नै यसो त नायिका सुरक्षा पन्तको बुबाको भुमिका  यानिकि "पदम प्रसाद" को चरीत्र निभाएका प्रभाकर पनि अब दर्शकको नजरबाट हट्न नसक्ने पात्र बनेका छन् ।  लामो समय रङ्ग मञ्चमा काम गरेर खारिएका उनले पदम प्रसाद चरित्रलाई पूर्ण रूपले न्याय गरेका छन् ।   नयाँ र नवीनतम खोजमा रमाउने निर्देशक दीपेन्द्र के खनाल को आँखामा प्रभाकर फिल्म "चिसो मान्छे" बाट परेका हुन् । उनले उक्त फिल्मबाट निर्देशकको मन जितेकै कारण यो फिल्ममा  प्रमुख भूमिका पाएका थिए ।  नाटक योगमाया , ढल्केको सालैजु , देउताकी आमा लगायत दर्जनौँ नाटकमा अभिनय गरेका न्यौपानेले राष्ट्रिय नाचघरले आयोजना गरेको राष्ट्रियस्तरको नाटकमा समेत उत्कृष्ट अभिनय  पुरस्कार हासिल गरेका थिय । साथै उत्कृष्ट निर्देशकबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार समेत हासिल गरेका उनी २०११ मा युनिभर्सल पिसको ब्रान्ड एम्बेस्डरमा पनि नियुक्त भएका थिय । नाटक "कुमारी"   बाट प्रभाकरले अन्तर्राष्ट्रिय  पुरस्कार हासिल गरेका हुन् ।  नाटक लिलामे माइलो , सैलु , रात चिर्न्या भानु भने उनको लेखन तथा निर्देशनमा बनेको नाटक रहेको छ । साथै  "झुम्री" र  संस्कृतविद् शताब्दी पुरुष सत्यमोहन जोशीको संस्कृत नाटक महर्षि "यज्ञ बल "उनको आउने तयारीमा रहेका नाटक हुन् । प्रभाकरले  यस अघि पनि थुप्रै फिल्म , सिरियलमा समेत काम गरिसकेका  छन् । तर "के घर  के डेरा"ले भने उनको छुट्टै पहिचान बनाइदिएको छ । फिल्ममा नायिका सुरक्षा पन्त, वर्षा राउत ,रवीन्द्र झा, आशान्त शर्मा, लक्ष्मी गिरी, कोसिस क्षेत्रीलगायतका कलाकारहरूको पनि अभिनय छ ।  सिंगे लामाको कथा, महेश दवाडीको पटकथा/संवाद रहेको फिल्ममा शंकर थापा (स्माइल)/कोसिस क्षेत्रीको सङ्गीत, सूर्य ठोकर एक्सन, दीर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन छ ।युवराज कार्कीको कार्यकारी निर्माण रहेको फिल्ममा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनको लगानी छ । हाल सम्म फिल्मले ३ करोड माथिको व्यापार गरेको छ ।