कलाकारहरूका फ्यानहरू पनि अज्जब -गज्जबका हुन्छन् । कलाकारको लागि यति पागल हुन्छन् कि मानौँ उनीहरूको लागि एक कलाकार नै सबै थोक हो । कलाकारको जन्मदिन होस् या उक्त कलाकारको फिल्म रिलिजको दिन नै होस् केही न केही बोकेर त पुगेकै हुन्छन् । यस्तै कलाकारको सूचिमा पर्छन् अभिनेता आकाश श्रेष्ठ । हरेक वर्ष उनका फ्यानहरूले श्रेष्ठको जन्मदिन भव्यताका साथ मनाइदिएका हुन्छन् । साथै केही गिफ्टहरू उनको हातमा थमाइदिएका हुन्छन् र ती गिफ्टहरू समाचारका हेडलाइन बनिहाल्छन् । गत शनिवार उनको जन्मदिन पर्यो । फ्यानहरूले उनको जन्मदिन काठमाडौँको होटेल ए-वान् भेन्यूमा भव्यताका साथ मनाए । जन्मदिनको गिफ्ट पनि उनले सस्तो पाएनन् । आकाशका धनी फ्यानहरुले एक हातमा सुनको ब्रासलेट, औँठी र दुवै कानमा सुनको टप उपहार दिए । करिब एक लाख बराबरको उपहार थियो । साथै, सोही अवसरमा एक असाह्य व्यक्तिलाई ५० हजार नगद समेत हस्तान्तरण गरिएको थियो ।