फिल्म ‘हिजो आजका कुरा’  अमेरिकामा प्रदर्शन भएको छ ।  आइतबार अर्थात १३ नोभेम्बरमा अमेरिकाको फेयरफ्याक्स सिटी स्थित सिनेमा आर्टस् थिएटरमा फिल्म  प्रदर्शन भएको हो । साथै अब १८ देखि २५ नोभेम्बरसम्म डल्लासस्थित सिनेपोलिस, इयुलेस एण्ड फन मुभी ग्रिलमा फिल्म प्रदर्शन हुनेछ भने २० नोभेम्बरमा ओक्लाहाउमाको रोडियो सिनेमामा प्रदर्शन हुने तय भइसकेको छ । फिल्मलाई सन्तोष पन्तका छोरा निर्देशक साकार पन्तले निर्देशन गरेका छन् l नेपाल टेलिभिजनबाट लामो समयसम्म प्रसारण भएको चर्चित हास्य टेलिसिरियल ‘हिजो आजको कुरा’कै नाममा यस फिल्म बनेको हो । फिल्ममा टेलिश्रृङ्खलाकै जोडी सन्तोष पन्त र रमा थपलिया मुख्य भूमिकामा रहेका छन् । अन्य कलाकारहरू केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, ऋचा शर्मा, जेविका कार्की, अनुष्का अधिकारी, सविन शाक्य लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको पटकथा सन्दीप किस्नको रहेको छ ।