चर्चित साहित्यकार भवानी भिक्षुद्वारा लिखित ‘माउजङ बाबुसाहेवको कोट’को कथामा नाटक मञ्चन गरिएको छ । उक्त कथाको नाट्य रूपान्तर सविन न्यौपानेले गर्नुभएको हो । नाटकमा इफाजतका साथ राख्न नसकेको ‘माउजङ बाबूसाहेवको कोट’ बारेको व्याख्या विश्लेषण सहितको बाबुसाहेवको मनोविज्ञानमा आधारित कथा नाटकमा प्रस्तुत गरिएको छ ।
‘माउजङ बाबूसाहेवको कोट’ २००७ सालको प्रजातन्त्र स्थापना पछि एक विर्तावाल घरानिया राणा उर्फ माउजङ बाबुसाहेवको मनोविज्ञानमा आधारित कथा रहेको छ । कथाको मुख्य पात्र बाबुसाहेवलाई आफ्नो जवानि कालमा कोहि विशिष्ट राणा खानदानसँग सम्बन्धित व्यक्तिबाट एउटा ओभरकोट बक्सिस दिइएको हुन्छ र उनी र उनको सो कोट एक अर्काका पर्याय हुन्छन् ।
देशमा आएको प्रमुख राजनितीक परिवर्तन पछि उनको कोटले पाउने मान सम्मानको मुल्यमा क्रमिक रूपमा गिरावट आउन थाल्छ र यी कुराहरूबाट बाबुसाहेवमा उत्पन्न मनोविज्ञानलाई आधार बनाएर नाटक प्रस्तुत गरिएको छ ।
उक्त नाटकको निर्देशन विवेक न्यौपाने ‘घने’ ले गर्नुभएको हो भने, नाटकमा सरोज अर्याल, रीता थापा, सन्तोष थापा, सानू पाण्डेय, दिवाकर घिमिरे, प्रनेश गौतम, सविन लुइँटेल, सुनिल खड्का, विरेन्द्र सिंह कुसुवाहा तथा ओसन कार्कीको अभिनय रहेको छ ।नाटक रातोपुलस्थित शैली थिएटरमा बिहिबार बाहेक माघ ९ गतेदेखि माघ २५ गतेसम्म साँझ ५ बजेबाट नाटक मञ्चन हुनेछ भने, शनिवार अतिरिक्त शो दिउँसो १ बजे पनि राखिएको थिएटरले जनाएको छ ।