डण्डीबियो खेलको प्रवर्द्धनका लागि चलचित्र ‘डमरुको डण्डीबियो’ बन्ने भएको छ । काठमाडौँमा शुक्रवार एक कार्यक्रम बिच चलचित्रको निर्माण घोषणा गरिएको हो । छेतन गुरुङको निर्देशन र लेखनमा बन्न लागेको चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, नमिता घिसिङ, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मी पाण्डे, जीवन थापा, लक्ष्मण विक्रम बस्नेत, अंकित खड्का लगायतका कलाकारको अभिनय रहने छ ।
‘डमरुको डण्डीबियो’मा निर्देशक छेतनसँगै अभिनेता खगेन्द्र लामिछानेको पनि कथा रहने निर्माण पक्षले बताएको छ । सुमी श्रेक्ष्ठ घले र विनोद गुरुङको संयुत्त लगानीमा निर्माण हुन लागेको चलचित्रको छायाङ्कन यही आइतबार (असोज २२) गतेबाट सुरु हुने छ । काठमाडौँको केही स्थान सहित लम्जुङको घले गाँउमा चलचित्रको छायाङ्कन हुने निर्माण पक्षले जानकारी दिए । ४० दिनको सुटिङ सेड्युल रहेको चलचित्र यही वर्षको अन्त्यमा रिलिज हुने बताइएको छ । समृद्धी इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रको बजेट करिब १ करोड ५० लाखको रहने छ ।