अभिनेता अनमोल केसीको अभिनय रहने फिल्म  ‘जेरी’ को नेम सिक्वेल ‘जेरी अन टप’ को थिम पोष्टर सार्वजनिक भएको छ। हेमराज बिसीको निर्देशनमा तयार हुने फिल्मको  पोस्टरमा एक युवालाई ट्रेकिङ गरिरहेको देखाइएको छ ।फिल्ममा पुन: अनमोल केसी र आना शर्माको जोडी निर्माण टिमले  दोहोर्याएको छ। यी दुईको साथमा पूर्णिका सिजापति मुख्य भूमिकामा रहेकी छिन्। फिल्ममा अर्को एक नायकको पनि अभिनय रहनेछ। यसको लागि निर्माण टिमले अडिसन समेत खुलाएको थियो। चर्चित मोडल कुन्साङ्ग बोम्जोनसंग पनि निर्माण टिमले केहि चरण छलफल गरेको छ।अनन्या फिल्मस् र नेपकम्स ग्लोबलको निर्माण रहने फिल्ममा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले लगानी गर्नेछन्। फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक विसी र विश्वास तिमसिनाले लेखेका हुन् । अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्र लगायतका स्थानमा खिचिने फिल्म फागुन अन्तिम साताबाट छायांकनमा जाने तयारीमा रहेको छ।