फिल्म ‘नाईं नभन्नू ल ६’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘दिउँला माया’ बोलको रोमान्टिक थिमको गीतमा फिल्मका प्रमुख डेब्यू अभिनेता आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्मा फिचर्ड छन् ।शरद शंकर र बेनिशा पौडेलको युगल स्वर रहेको गीतमा निर्देशक आचार्य स्वयंको शब्द र गायक शंकरको संगीत छ ।
विकासराज आचार्यद्वारा निर्देशित फिल्म आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको हो । नयाँ वर्षको अवसर पारेर आगामी बैशाख १ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा आशिर्वाद र आँचलसँगै केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, निखिल उप्रेतीका छोरा अर्थवको पनि मुख्य भूमिका छ ।निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् । फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन छ ।