नेपाली फिल्मका निर्देशकहरुको छाता संस्था नेपाल चलचित्र निर्देशक समाजमा जनकदीप पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार संघीय राजधानी काठमाडौंमा भएको १५औं वार्षिक साधारण सभाबाट अध्यक्षमा पराजुली हुनुका साथै महासचिवमा अरुणकुमार प्रधान,दुई उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट, सह-कोषाध्यक्षमा राज बस्न्यात, ६ जना सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सव केसी र अमृतमान महर्जन सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । सह-सदस्य पदमा भएको निर्वाचनबाट भने सीमा गुरुङ्ग र रामकुमार श्रेष्ठ निर्वाचित भए ।अध्यक्ष पदमा जनकदीपसँगै सुचित्रा श्रेष्ठले पनि उम्मेदवारी दर्ता गरेकी थिइन् । तर, पछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि जनकदीप अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।