फिल्म `बहाव´ लाई प्रिमियरमा रुचाइएको छ । सुखद प्रतिक्रिया मिलेको फिल्मको प्रिमियर गत बुधबार वान् सिनेमाजमा आयोजित गरीएको थियो । आयोजित प्रिमियरमा उपस्थित भएका फिल्मकर्मी, राजनीतिज्ञ तथा व्यवसायीहरुले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका थिय । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा एमाले सांसद पदम गिरीले फिल्मले समाजभित्रको अन्तरविरोधलाई देखाएको बताए । उनले समाजभित्र रहेको विभेदको जरा उखेल्न नसकिरहेको अवस्थामा ‘बहाव’ले त्यो जरा उखेल्न भूमिका निर्वाह गर्ने दाबी गरे । ‘यस्तो फिल्मले समाजलाई बदल्न महत्वपूर्ण भूमिका खेल्छ भन्ने लाग्छ । फिल्मले समाजको यथार्थ कथा उठाएको छ,’ नेता गिरीले भने । यसै गरी कलाकार विजय बरालले फिल्मको कन्सेप्ट आफूलाई मन परेको बताए । त्यस्तै, अभिनेत्री लुनिभा तुलाधरले फिल्मले आफ्नो कथा भनेजस्तो अनुभव गरेको बताइन् । उनले मानसिक स्वास्थ्यको विषयलाई उठान गरेकोमा आभार व्यक्त गर्दै यस्ता कथामा अझ फिल्म बन्नुपर्नेमा जोड दिइन् । प्रिमियरमा प्राप्त प्रतिक्रियाबाट फिल्मका निर्देशक, निर्माता तथा कलाकार प्रफुलित देखिएका थिए ।कलाकार भोलाराज सापकोटाले फिल्मको कथा, प्रस्तुतिकरण र कलाकारको अभिनयको खुलेर प्रशंसा गरे । अर्का कलाकार दीपक आचार्य (काकु)ले नेपाली परिवेशमा फरक शैलीको राम्रो फिल्म बनेको धारणा राखे ।फिल्मलाई प्रमोद कंडेलले निर्देशन गरेका हुन् । संचारकर्मी श्रीधर पौडेलले निर्माण रहेको फिल्ममा सुरक्षा पन्त कमलमणी नेपाल, अफ्रान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हिरालाल कंडेल र पवन श्रेष्ठको अभिनय छ । फिल्म भोलिबाट रिलिज हुँदै छ ।