चलचित्र विकास बोर्डले गण्डकी प्रदेशको पाँच जिल्लामा   घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम सञ्चालन गरेको छ । हलनभएका यि पाँच जिल्लालाई ध्यानाकर्षण गर्दै बोर्डले चैत्र १२ देखि २० गतेसम्म यो कार्यक्रम संचालन गरेको थियो ।  ती जिल्लाहरुका विभिन्न विद्यालयको भवन, सामुदायिक भवन, क्लब एवं खुल्ला स्थानहरुमा नेपाली फिल्म प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा फिल्मका बारेमा जागरण ल्याउन राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र पुरस्कार तथा विभिन्न पुरस्कारबाट पुरस्कृत भएका शिक्षामूलक, सन्देशमूलक, सामाजिक कथामा बनेका फिल्महरू देखाउँदै नेपाली फिल्म हेर्नका लागि प्रोत्साहन गर्ने लगायतका विषयमा छलफल समेत गरिएको थियो । आयोजित कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति थियो । यस् अघि बोर्डले पूर्वी नेपालका पहाडी जिल्लामा कार्यक्रम आयोजित गरेको थियो ।