उनन्त जंग उप्रेती /काठमाडौँ २८ असोज । पछिल्लो समय चर्चित विदेशी रियालीटि सोहरुमा नेपालीले सहभागीता जनाउने क्रम बढ्दो छ । कति त विजेता समेत बनेका छन् भने धेरैको चर्चा बढेको छ। जसका कारण लुकेर रहेका प्रतिभालाई धेरैले चिने। भौगोलिक तथा अन्य सहजताका कारण अन्य देशको तुलनामा भारतिय रियालिटी सोहरुमा नेपालीको सहभागीता बढि नै छ। जसमध्ये प्रशान्त तामाङ, टेरिया मगर, निर्मल तामाङ लगायतको नाम शिर्ष स्थानमा आउँछ । यहाँ चर्चा गरिएको छ केही त्यस्तै नेपालीहरुको नाम जसले विदेशी रियालिटी सोबाट चर्चामा आउन सफल भए।

प्रशान्त तामाङ :-

भारतको दार्जिलिङमा जन्मिएका प्रशान्त तामाङ इन्डियन आइडल तेस्रो संस्करणका विजेता हुन्। दार्जिलिङका नागरिक र भारतिय सेना भएपनि सोनी च्यानलबाट प्रशारण भएको उक्त गायन प्रतियोगितामा उनले नेपाली संस्कृतीको सम्मानमा कहिले ढाका टोपी लगाएर प्रस्तुत भए, कहिले नेपाली गीत गाए त कहिले नेपाली भाषामा भोट अपिल गरे। जसका कारण प्रशान्तले उक्त समय नेपालीहरुबाट पनि उत्तिकै माया र भोट पाए । सर्वाधिक भोटका साथ उनी नै विजेता घोषित भए। त्यसपछि उनले नेपाल नै आएर गीत निकाले र फिल्म क्षेत्रमा पनि सक्रिय रहे। ‘गोर्खापल्टन’ मार्फत नायकको रुपमा डेब्यु गरेका उनको अभिनय रहेको फिल्म 'परदेशी' सर्वाधिक कमाउने फिल्मको सूचीमा पर्छ।

निर्मल तमाङ :-

भारतिय नृत्य प्रतियोगिताबाट चर्चा कमाएको नाम हो निर्मल तामाङ । नुवाकोट, बिदुर नगरपालिका ११ का निर्मल जि.टी.भीबाट प्रसारण हुने डान्स इण्डिया डान्स सिजन ५ मा टप १० सम्म पुगेका थिए । उनले आफ्नो प्रतिभाले निणार्यकहरुलाई नतमस्तक बनाइदिएका थिए । फाइनलसम्म पुगेर बाहिरिएका निर्मलको चर्चा विजेता भन्दा कम थिएन । हाल उनी डान्स प्लसमा र बलिउड अभिनेता साहिद कपूरको सहायक कोरियाग्राफरको रुपमा काम गरिरहेका छन् ।

तेरीया मगर :-

तेरीया मगरको काम उदाहरणिय मान्न सकिन्छ। सानो उमेरमा नाम, चर्चा, तारिफ र माया कमाउन सफल तेरियाको नृत्यले भारतिय बालबालिकाको भिडमा नेपालको प्रतिनिधित्व गर्‍यो। रुपन्देही रुद्रपुरकी तेरीया मगरले ११ बर्षको कलिलो उमेरमा भारतिय च्यानल जि.टि.भिमा प्रसारण हुने डान्स इण्डिया डान्स लिटल मास्टर सिजन ३ की विजेता बनिन् । ०६९ सालमा जन्मिएकी तेरीया ६ बर्षको उमेरबाट नै नृत्य कक्षा लिंदै आइको पारिवारिक स्रोतले बताउँदै आएको छ। भारतिय च्यानलबाट प्रसारण हुने ‘झलक दिक लाजा’को पनि उपाधी हासिल गरिन्। हाल उनी नेपाल लगायत बिभिन्न देशमा आयोजना हुने कार्यक्रममा पारिश्रमिक लिएर प्रस्तुती दिन्छिन्।

सुशान्त खत्री :-

काठमाडौँ कपनमा २० बर्षीय सुशान्त खत्री चर्चित डान्सर हुन् । उनी भारतको चर्चित रियालिटी सो ‘डान्स प्लस सिजन २’का फाइनलिस्ट थिए । स्टार प्लसबाट आउने उक्त कार्यक्रममा सोही कार्यक्रमका जजका साथै चर्चित डान्सर रेमो डिसुजाले उनलाई बिजेता समेत घोषणा गरेका थिए । पढाईमा अगाडी रहने सुशान्त नृत्यमा लागेपछि उनको परिवारले उनलाई डान्स गर्ने रोकेका थिए । कक्षा १२ अध्ययनरत सुशान्तले डान्स प्लसमा आउनु अघि सन् २०१२ मा इन्डिया सुपर स्टारमा समेत सहभागी जनाएका थिए । उनी उक्त कार्यक्रममा टप १० मा पुगेर बाहिरिएका थिए ।

वाइल्ड रिपर्ज ग्रुप :-

सुशान्त खत्रीसँगै वाइल्ड रिपर्ज ग्रुपले स्टार प्लसबाट प्रसारण हुने चर्चित रियालिटी सो डान्स प्लस सिजन २ मा सहभागी जनाएको थियो । यो समुहले उक्त सोमा दोस्रो स्थान हात पार्‍यो । वाइल्ड रिपर्ज एउटा नेपाली हीप हप डान्स समूह हो । जसलाई अर्को नाममा बी बोयिङ पनि भनिन्छ । उक्त डान्स समुहमा काठमाडौँ, धनगढी र बुटवल बस्ने नौँ जना युवाहरु छन् । जसमा बुद्ध लामा, रोहन सिंह, किरण थापा, सुरेन राई, सन्तोष दर्जी, साउल जेम्स बोदी, सागर राई, सुमन तामाङ र सुरज थापा मगर छन् । नेपालमा स्थानिय रुपमा चर्चित रहेको यो समुहले आफ्नो करियर बनाउन २ बर्ष देखि भारत प्रवेश गरेका थिए । आफ्नो नृत्य समुहलाई सबैको सामु परिचित बनाउन संर्घष गरिरहेको यो समुहले भारत र नेपालमा हुने विभिन्न प्रतियोगीताको विजेता बनिसकेको छ । बुझिए अनुसार अब यो समुह चाडै बलिउड चलचित्र ‘ए बि सी डि ३’ मा काम गर्दै छन् ।

वीर राधा शेर्पा :-

वीर राधा शेर्पा चर्चित रियालिटी शो डान्स प्लस सिजन ३ का बिजेता हुन् । सिलाचारका वीर नृत्यमा करियर बनाएर आफ्नो बुवाको सपना पुरा गर्ने १२ बर्षको उमेर देखि डान्स सिक्दै आइरहेका बताउँछन्। उनी यस कार्यक्रमम आउनु अघि अर्को चर्चित रियालीटी सो डान्स इण्डिया डान्स लिटल मास्टर सिजन ३ मा आफ्नो प्रतिभा देखाइसकेका छन् । सबै प्रकारको डान्स गर्न सक्ने शेर्पाले डान्स प्लसको बिजेता बनेर पच्चिस लाख भारु र एउटा गाडी जितेका थिए ।