फिल्म ‘गोर्खा वारियर्स’को रेडकार्पेट प्रिमियर बेलायतमा गरिने भएको छ । निर्माण टिमले बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा भाद्र २४ गते प्रिमियर आयोजना गर्न लागेका हुन् । लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो गरिएको छ । साथै, फिल्मको हङकङ र सिंगापुरमा समेत प्रिमियर आयोजना गरिने छ । फिल्मको निर्देशन तथा निर्माण मिलन चाम्सले गरेका हुन् ।फिल्मलाई नेपाली, अंग्र्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी छ । हलिउड कम्पनीले यसलाई वितरण गर्ने जनाइएको छ l फिल्मलाई लन्डन सिने आई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण गरिएको हो l नेपालसहित मलेसिया र बेलायतमा छायांकन भएको फिल्ममा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले लगायतको अभिनय रहेको छ l फिल्ममा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेश पायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बिसीको सम्पादन, सुदीप बरालको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन समावेश छ l