स्मार्ट प्रविधिको प्रदर्शनी आयोजना हुने भएको छ l सफ्टवारिका कलेजद्वारा आयोजित "टेक–एक्स २०२३" यही जुलाई देखी हुने भएको हो । जुलाई २७ देखि जुलाई ३० सम्म हुने कार्यक्रममा रोबोटहरूको वार मुख्य आकर्षणको रूपमा रहने आयोजक टिमको भनाइ छ  ।  एआई र साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीहरूले तयार पारेका विभिन्न प्रोजेक्टहरू समेत हेर्न पाइनेछ ।सूचना प्रविधि मन्त्री रेखा शर्मा द्वारा उद्घाटन गरिने कार्यक्रममा ३० भन्दा बढी प्रोजेक्टका स्टलहरू रहने छन् । जसमा स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टि विहीनले प्रयोग गर्ने छडी) र होम सेक्युरिटीसहित घरमा अनधिकृत व्यक्तिको घुसपैठ भएको थाहा पाउने सिस्टम रहेका छन् । साथै, आगलागी सम्बन्धी सूचना दिने फायर अलार्म सिस्टम, स्मार्ट वाच, हेल्थ मनिटरिङ सिस्टम, स्मार्ट ट्राफिक व्यवस्थापन प्रणालीका साथै स्मार्ट प्रिसिजन एग्रिकल्चर सम्बन्धी प्रोजेक्ट समेत राखिने छन् ।११-१४ साउनसम्म चल्ने मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क रूपमा अवलोकन गर्न सकिनेछ । बेलायतको कोभेन्ट्री युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस कलेजमा इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी, कम्प्युटिङ, डेटा साइन्स तथा कम्प्युटेसनल इन्टेलिजेन्स लगायतका विषयहरूको अध्यापन हुने गरेको छ ।