यम शेर्पाको निर्देशनमा निर्माण हुने फिल्म `कार्साङ´ मा  नायिका सुरक्षा पन्त पनि जोडिएकी छिन् । निर्माण टिमले अभिनेता राई सँग जोडी बाँध्ने तयारीका साथ सुरक्षालाई फिल्ममा भित्र्याएका हुन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा यस अघि कलाकार बुद्धि तामाङ र नायिका छिरिङ शेर्पा अनुबन्धित भैसकेका थिए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद लेखन समेत रहेको छ । उक्त फिल्ममा अन्य कलाकारहरूको खोजी कार्य जारी छ । ती कलाकारहरू भने अडिसनबाट छनोट गर्ने तयारी निर्माण टिमको छ ।पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको तिहार लगतै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गर्ने निर्माण टिमले बताएका छन् ।