चलचित्र ‘ऐँचो पैँचो’को केही दिन अघि सार्वजनिक भएको गीत 'काले केटाले ' लोकप्रिय बन्दै गएको छ । गीतलाई टिकटकमा पनि धेरैले रुचाएका छन् । सार्वजनिक भएको छोटो समयमै युट्युबमा करिब १९ लाख पटक यो गीतलाई हेरिएको छ ।

लोक र आधुनिक गीत सिर्जनाको शिखरमा रहेका सर्जक एकनारायण भण्डारीको शब्द रचना रहेको गीतमा सङ्गीत र स्वर आशिस अबिरलको रहेको छ । आशिसलाई अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।

योङ जेनेरशनलाई लक्षित गरेर लेखिएको गीतले प्रेमी-प्रेमिकाले आफ्नो प्रेमी-प्रेमिकासँग देखाउने एटिच्युड प्रस्तुत गरेको छ । आफूलाई सुनसँग तुलना गर्दै प्रेमीलाई फलाम भएको रोमान्टिक व्यङ्ग्य गर्ने गीतमा दुवैले एक अर्कालाई मन पराउने तर रमाइलोका लागि एकले अर्कोलाई जिस्काउने भाव छ । 

गीतको भिडियोमा एलेक्स विश्वकर्मा (पारस) फोकस छन् । साथमा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला, कोसिस क्षेत्रीको अभिनय छ । यो गीतको भिडियोमा कबिराजको आकर्षक कोरियोग्राफी छ ।

 

भदौ १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई कृषा चौलागाईंले निर्देशन गरेकी छन् । केपी फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायत कलाकारको अभिनय रहेको छ ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व सङ्गीत रहेको छ । रेनिश फागोको कलर, सत्यम राणाको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।