सहकारीमा पैसा फसेपछि दुई वर्ष (२०७८ र २०७९)को पुरस्कार वितरण हुन नसकेपछि भुवन चैत्य बसुन्धारा फाउन्डेसनले दुई वर्षको पुरस्कार एकैसाथ वितरण गरेको छ । चलचित्र विकास बोर्डमा एक कार्यक्रमका बिच फाउन्डेसनले फिल्मकर्मी र सङ्गीतकर्मीलाई पुरस्कार वितरण गरेका हुन् । उक्त फाउन्डेसनको रु १५ लाख सहकारीमा फसेको थियो ।कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार संघका अध्यक्ष मोहन निरौला, रमेश बुढाथोकी, कृष्ण मल्ल, चेतन सापकोटा, करिश्मा मानन्धर, आकाश अधिकारी लगायतको उपस्थिति थियो । २०७८ सालको हरिस-भुवनचन्द पुरस्कार निर्देशक यादव खरेल र २०७९ सालको पुरस्कार कलाकार नीर शाहलाई प्रदान गरियो । यसै गरी सङ्गीतकर्मी गणेश रसिकले ०७८ साल र अभिनेता शिव श्रेष्ठले ०७९ सालको चैत्यदेवी पुरस्कार प्राप्त गरे । यस्तै, अभिनेत्री मिथिला शर्मा ०७८ साल र अभिनेत्री शर्मिला मल्ल ०७९ सालको चेतनारायण-वसुन्धरा भुसाल पुरस्कारबाट सम्मानित भएका छन् ।