समयमै छायांकन हुन नसकेको भन्दै फिल्म `कामिनो´ बाट पालै पालो अनुबन्धित कलाकारहरू निक्लिन थालेपछि फिल्म अब नबन्ने भन्ने खबर बाहिरिएको थियो। तर निर्माण टिमले उक्त खबरलाई बेवास्ता गर्दै फिल्ममा नायिका आना शर्मालाई भित्र्याएका छन् । हाललाई मौखिक सम्झौता गर्दै फिल्ममा आनालाई भित्र्याउने तयारी गरेको निर्माण टिमको भनाइ छ । साथै , फिल्म निर्देशक दीपक ओलीको अनुसार केही दिनमा नै आना सँग लिखित सम्झौता गर्ने तयारी पनि रहेको बताएका छन् । नायिका शर्माको जोडी अभिनेता प्रदीप खड्का सँग फिल्ममा बाँधिने छ । यसअघि नीति शाहले फिल्म छाडेपछि निर्माताले नयाँ अभिनेत्रीको खोजी थालेका थिए । जसमा अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या र आनासँग कुराकानी भएको थियो । फिल्मको निर्माणमा नयाँ कम्पनी एवान क्रिएसन जोडिएको छ ।फिलिपिन्सबाट छायांकन सुरु हुने फिल्ममा फिल्ममा रवीन्द्र झा, प्रवीण खतिवडा, भोलाराज सापकोटा र विदेशी अभिनेता कार्लोस लगायत छन् ।फिलिपिन्समा ४५ दिन रहेर फिल्म छायांकन हुनेछ । त्यसपछि तिहारपछि बाँकी छायांकन नेपालमा गर्ने तयारी निर्माण टिमको छ । हिँडेर अमेरिका जाने कथावस्तुमा फिल्म निर्माण हुन लागेको हो ।