दुई ठुला ब्यानरका फिल्म ‘एक भगवत् गीता’ र `भष्मे डन’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई छुट्टाछुट्टै पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई प्रस्तुत गरिएको छ । झरना थापाले निर्देशन गरेको फिल्म ‘एक भगवत् गीता’ को ३ पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा अभिनेता विपिन कार्की, सुहाना थापा, धिरज मगर र बाल कलाकारलाई देख्न सकिन्छ ।पोस्टरमा धिरज र सुहाना रोमान्टिक अवतारमा प्रस्तुत छन् भने अभिनेता कार्की ट्रान्सजेन्डर लुक्समा प्रस्तुत छन् ।सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कथा निर्देशक झरना थापा स्वयंको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।अन्तरजातीय प्रेमकथामा आधारित रहेको फिल्ममा कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ । अगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म रहेको छ । यसै गरी निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टरमा सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतका अन्य कलाकारहरूलाई पनि स्थान दिएको छ ।फिल्मको एक गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का पनि विशेष भूमिकामा देखिने छन् ।फिल्मलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मका निर्माता पनि उनी स्वयं हुन् । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको सङ्गीत रहने सिनेमा टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको छ । आगामी बडा दसैँको फूलपातीबाट फिल्म प्रदर्शनमा आउने छ ।