संगिक्षा फिल्मस्को आयोजना र ‘नमस्ते ट्राभल्स’को सहकायमा आयोजना हुन लागेको ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’को तयारी सुरु भइसकेको छ । डिसेम्बर १ मा यूएइको आबुधाबीमा आयोजना हुन लागेको अवार्डलाई सफल पार्न नेपाल र यूएइका आयोजकहरु लागी परेका छन् ।  पहिलो ‘नेपाली म्यूजिक भिडियो अवार्ड’बाट उल्लेख्य दर्शकको साथ पाएको यो टिम ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’लाई पनि भव्य बनाउने तयारीमा छ । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था ‘नमस्ते ट्राभल्स’का एकेन्द्र थापाले यसपटक गतबर्षको भन्दा झनै भव्य अवार्ड आयोजना गर्ने बताए । उनले भने ‘दुबइमा कार्यक्रम गर्न त्यती सजिलो छैन । तर, हामीलाई यूएइमा रहेका विभिन्न संघसंस्थाले खुलेरै सहयोग गर्नुहुन्छ, यसकारण पनि हामी उत्साहित छौ ।’ उनले, नेपालबाट जाने कलाकारलाई यसपटक चार तारे होटलमा राखिने र दुबइमा क्रुज पार्टीमा सहभागी गराउने समेत बताए ।एकेन्द्रले अगाडि भने(‘अवार्ड वितरणसँगै गीतसंगीत र नृत्यलाई बढी फोकस गर्न हामीले नेपाल आयोजकसँग भनेका छौ । दर्शक अवार्डमा झुम्न आउनुहुनेछ, हामी उहाँहरुको उत्साहलाई मर्न दिने छैनौ ।’यस्तै, नमस्ते ट्राभल्सकै नानुकाजी अर्यालले अवार्डका लागि ३ दिनको सेड्यूल तयार पारिएको बताए । अबुधाबीको भ्रमण, दुबइमा क्रुज पार्टी, अवार्ड कार्यक्रम मुख्य आकर्षणमा रहेको उनले सुनाए । उनले भन ‘गतबर्ष हामीले पनि धेरै कुरा वुझेका थिएनौ । यसपटक, व्यवस्थापन सबैकुराबाट उत्कृष्ट हुन्छ ।’अवार्ड हेर्न आउने दर्शकले सबै प्रकारका प्रस्तुती रुचाउने भएकाले पनि सोही अनुसारले कलाकारको सहभागीता अवार्डमा गराउने संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले बताए ।