एकेडेमी अवार्डस् (द अस्कर), अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल)ले ‘९६औँ अस्कर अवार्ड प्रतियोगिता’का लागि अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा सहभागी गराउन सूचना आह्वान गरेको छ । विज्ञप्ति जारी गर्दै नेपाली फिल्मलाई उक्त पुरस्कारको प्रतियोगितामा सहभागी गराउन चाहने चलचित्र निर्देशक र निर्माताहरूलाई आफ्नो चलचित्र २०२३ सेप्टेम्बर १५ तारिख अर्थात् मिति २०८० भदौ २९ गते शुक्रवार दिनको ५ बजेभित्र समितिको सचिवालयमा सम्पर्क गरी दर्ता गराउन आह्वान गरेको हो । फिल्म निर्देशक राजु के.सीको नेतृत्वमा अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल) गठन गर्दै दरखास्तका साथमा फिल्म जाँच (सेन्सर) गरिएको प्रमाणपत्र, हलमा रिलिज नभएर ओटीटीमा रिलिज भएको हो भने सोको प्रमाण, ३५ एम.एम. वा ७० एम.एम.को भिडियो वा २४–४८ फ्रेममा प्याकेज गरिएको डिजिटल सिनेमा, यसै गरी २०४८ देखि १०८० पिक्सेलसम्म प्रोजेक्सन रेजुल्युसन भएको डिजिटल सिनेमा, ५.१ अथवा ७.१ मा उपलब्ध अडियो, निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली (क्रेडिट टाइटल्स् सिनेमामा देखाइएको क्रममा), अङ्ग्रेजी भाषामा लेखिएको फिल्मको संक्षिप्त सारांश (कथासार), निर्देशकको फिल्मोग्राफी र फोटो, सम्बन्धित चलचित्रका ३ देखि ५ वटासम्म स्थिर फोटाहरू, फिल्म रिलिज हुँदाको एउटा अफिसियल पोस्टर लगायत प्रमाण सहित सात दिनभन्दा पेस गर्नुपर्नेछ ।