फिल्म `भगवत गीता´ रिलिज अगावै चर्को विवादमा तानिएको छ । नामलाई लिएर चर्को विवादको चपेटामा परेको फिल्मलाई सेन्सर बोर्डले समेत प्रदर्शनको अनुमति दिएको छैन । विकास बोर्डको ज्यादती देखेर निर्माण टिम यती बेला तनावमा छन् । केही हिन्दुवादी संस्थाहरूले फिल्मको नाम र विषयवस्तुमा आपत्ति जनाउँदै निवेदन दिएपछि फिल्मलाई सेन्सर सिफारिस दिन बोर्ड डराएको हो । फिल्मका निर्माता सुनिल कुमार थापा समेत फिल्मले झमेला खेप्नु परेको कारण आक्रोशित बनेका छन् । फिल्मकर्मीको पक्षमा उभिनुपर्ने बोर्ड सेन्सर सिफारिस नदिएर निर्मातालाई नै पेलेर जान खोजेको भन्दै उनले गुनासो व्यक्त गरे । थप् उनी भन्छन् :‘बोर्ड त निर्माताहरूको पक्षमा उभिनुपर्ने होनि । तर, निर्मातालाई नै पेलेर यो र त्यो भएन भन्दै समस्या दिइरहेको छ,’ उनी भन्छन्, ‘मेरो फिल्मले कुनै पनि हालतमा सेन्सर सिफारिस पाउनुपर्छ । बरु सेन्सर बोर्डले यो नाम नराख्न वा फिल्मै प्रदर्शन गर्न पाउँदैन भन्यो भने म त्यसका लागि तयार छु । तर, सेन्सरमा फिल्म हेरिनुपर्छ । साथै निराश हुँदै यदि फिल्म नै नबना भन्नुहुन्छ भने म यो फिल्मै थन्काइदिन्छु । र, मलाई फिल्म क्षेत्रमा आउनु पनि छैन । म परिवारसहित अमेरिका गएर खुसीसाथ बस्नेछु । निर्माण इजाजत दिएको बोर्डले अहिले सेन्सर सिफारिस नै दिँदैन ’ थापा भन्छन् । फिल्ममा भगवत् र गीता पात्रको नाम मात्र रहेको स्पष्ट पार्दै हिन्दु धर्ममाथि कुनै पनि खालको आघात पुग्ने दृश्य र कथा फिल्ममा नभएको समेत उनले दाबी गरे ।