फिल्म ‘भगवत् गीता’को चर्को आलोचना पछि फिल्मकर्मीहरू एकजुट भएर पक्षमा उत्रिएका छन् । सेन्सर बोर्डले समेत फिल्मको प्रदर्शन अनुमति नदिएपछि फिल्मकर्मीहरू ‘भगवत् गीता’ को पक्षमा उत्रिएर विकास बोर्ड नै खारेज गर्न पर्ने अभिव्यक्ति दिइरहेका छन् । कलाकारहरू सामाजिक सञ्जाल मार्फत बोर्डलाई  फिल्म रिलिज गर्न दिनु पर्ने दबाब दिइरहेका छन् । दीपकराज गिरीले फेसबुकमा स्ट्याटस लेख्दै नामकै कारण फिल्मको प्रदर्शन रोक्नु जायज नभएको बताएका छन् । निर्देशक झरना थापाको परिवार नै श्रीकृष्णको ठुलो भक्त रहेकाले भक्तले बनाएको फिल्ममा धर्मको खिल्ली उडाए भनेर पत्याउन नसकिने उनको भनाई छ । फिल्मको रिलिज रोक्न नहुने बताउँदै उनले बोर्डलाई जागिर खाने थलो मात्र नबनाउन आग्रह गरेका छन् । त्यस्तै, कलाकार निर्मल शर्माले फिल्म क्षेत्रलाई जीवित राख्न समर्पित र मिहिनेती निर्मातालाई बचाउनु पहिलो धर्म हुने बताएका छन् । निर्देशक शोभित बस्नेतले ‘एक भगवत् गीता’लाई कहीँ कतै बस्नेत परिवारको उपस्थिति चाहिए हाजिर हुने अभिव्यक्ति दिएका छन् । फिल्मको नामलाई लिएर आपत्ति जनाउँदै केही सनातन धर्मका संस्थाहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डमा नाम परिवर्तनको माग राख्दै निवेदन बुझाएपछि फिल्मको विवाद झन् ठुलो  हुँदै गइरहेको हो ।