फिल्म`भगवत् गीता´ को विवाद साम्य हुन नसक्दा  निर्देशक झरना थापाले फिल्मबारे बोलेकी छन् । सामाजिक सञ्जाल मार्फत उनले फिल्म बारे बोलेकी हुन् । सञ्जालमा झरना लेख्छिन्: 

 

Cine Pati

मध्यरातमा मैले आज यो लेखिरहँदा खेरि धेरै जना निदाई सक्नुभएको होला , कति जना अझै निदाउनु भएको छैन होला | मान्छेलाई अत्यन्तै पीडावोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ जुन आज म महसुस गरिरहेको छु , प्रार्थना गर्छु , जो जति जना निदाउनु भएको छैन ,   हजुरहरू ननिदाउने कारण मेरो जस्तो नहोस् | मैले मेरो जीवनको तीन दशक अनवरत रुपमा चलचित्र क्षेत्रमा दिएँ | प्रिय दर्शक हजुरहरूको मायाले म पर्दामा छाइरहेँ | मैले पनि दिनरात , झरी बादल , घर परिवार नभनी हजुरहरूलाई मनोरञ्जन दिन अथक काम गरिरहेँ | सम्पूर्ण नेपाली दर्शकहरूको माया र साथको  कारणले म अभिनय हुँदै निर्देशनमा आइपुगेको छु | म जहाँ छु , जे छु , जस्तो छु , म नेपाली जन र नेपाली मनको आशीर्वादले छु | यही प्रेरणाले म मेरो अन्तिम सास सम्म चलचित्रमै काम गर्छु भनेर हिँडिरहेकी छु | मेरो जिन्दगी भनेकै चलचित्र कर्म र दर्शकहरूको खुसी हो , त्यसबाहेक केही छैन |मैले निरन्तर चलचित्र गरिरहेको छु र निर्देशकको रुपमा हजुरहरूको  माया र स्नेह निरन्तर पाइरहेको छु | यही क्रममा समाजको केही यथार्थलाई टिपेर एउटा चलचित्र हामीले  बनायौँ | चलचित्रको कथावस्तु तथा  मेरो भगवान् श्रीकृष्ण प्रतिको असीम आस्था लाई केन्द्रमा राखेर चलचित्रको नाम “एक भगवत् गीता “ राख्यौँ | मैले मेरो जीवन भर  राष्ट्र , हाम्रो देशको  इतिहास ,  भौगोलिक अखन्ड़ता  , सांस्कृतिक विविधता, धार्मिक आस्था र  सहिष्णुतामा आँच आउने कर्म ऐले सम्म कहिल्यै गरेको छैन | हामीले एक भागवत गीता निर्माण पुरा गरेर अब हजुरहरूको हातमा सुम्पन तयार  भइसके पछि चलचित्रको नाम माथि प्रश्न उठाइयो |  हामीले उठेका प्रश्नहरूको विनम्रता पूर्वक उत्तर दियौँ  | हामीले हाम्रो चलचित्रमा हिन्दु पवित्र ग्रन्थ श्रीमद्भागवत गीताको कुनै पनि अवहेलना गरेका छैनौ भनेर कथाको सार नै प्रस्तुत गर्‍यौँ | चलचित्रको स्क्रिप्ट नै अध्ययन गर्न दियौँ | अझ चित्त नबुझे रिलिज पूर्व चलचित्र हेर्न पनि अनुरोध गर्‍यौँ |  प्रिय दर्शक वृन्द , मेरो आफ्नो जीवन नै भगवान् श्रीकृष्णको आस्थामा चलेको छ र श्रीमद्भागवत गीता आफैमा मेरो चलचित्र कर्मको प्रेरणा हो | म धार्मिक आस्था र सहिष्णुतामा सचेत छु र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको छु | बारम्बार हामीले हाम्रो चलचित्रको कथावस्तु सुनाएर , श्रीमद्भागवत गीता को अवहेलना नभएको स प्रमाण बत्ताइरहँदा पनि चलचित्रलाई सेन्सर अनुमति नै दिइएको छैन  र निर्क्योल भोलि आइतबार गरिने भनेर  भनिएको छ | आफ्ना सारा स्रोत सम्पत्ति , सपना र ऐले सम्मको चलचित्र कर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने   अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भइरहेको छ | थाहा छैन हाम्रो चलचित्र हजुरहरूको आँखा सम्म आउन् पाउँछ कि पाउँदैन | थाह छैन , प्रिय दर्शक हरूको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउँछ कि पाउँदैन | सत्य बोलिरहँदा पनि , सही छु भनेर दसी प्रमाण दिइरहँदा पनि कसैले न सुनिदिए पछि अन्तिममा फैसला त भगवान् ले गर्नु होला नि हैन ?मैले मेरो फैसला मेरो भगवानको हातमा छोड्दिएको छु l प्रिय दर्शक हरू ! भगवान् श्री कृष्ण ! हरे कृष्ण ! 

फिल्मको नामलाई लिएर आपत्ति जनाउँदै केही सनातन धर्मका संस्थाहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डमा नाम परिवर्तनको माग राख्दै निवेदन बुझाएपछि फिल्मको विवाद झन् ठुलो  हुँदै गइरहेको हो ।