सैलुङमा स्पार्क कारले `स्पार्क एड्भेन्चर २०२३ अन्तर्गत 'वाइल्ड स्टे विथ चौँरी' आयोजना गर्ने भएको छ । पर्यटनिय क्षेत्रको उच्च स्थानमा रहेता पनि प्रचार प्रसारको कमीले गर्दा आयोजक टिमले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम संयोजक अमर दीप भट्टराईको अनुसार असोजको ११ देखि १३ गतेसम्म हुने स्पार्क एड्भेन्चरमा सेलिब्रेटी, प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी सहभागी हुने कार्यक्रममा क्याप्टेन विजय लामा, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी,  कलाकार निखिल उप्रेती, सन्दर्भ दीप क्षेत्री, दिलीप रायमाझी,गायक यश कुमार, गरिमा शर्मा तथा लेखक बुद्धिशागर, ट्राभलर सिर्जना सिज्जुलगायतको उपस्थिति रहने छ । असोज ११ गते बिहान काठमाडौँदेखि सैलुङको यात्रा सुरु हुनेछ । असोज १२ गते चौँरी गोठ र सैलुङलाई 'एक्सप्लोर' गर्ने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा आन्तरिक पर्यटनको खोजी गर्ने, चौँरीसँग जङ्गलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्यहरू पत्ता लगाउने इच्छा भएका सहभागीहरूले पनि  सहभागिता  जनाउन सक्ने छन् । कार्यक्रममा सहभागी हुन दर्ता शुल्क ३० हजार रुपैयाँ रहेको छ ।साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन पनि गर्ने गरेको छ ।  सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउने देखि स्पार्कले देशैभर ड्राइभर सहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर सुरु भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको सैलुङ र त्यहाँको चौँरीगोठलाई केन्द्रित गर्दै आयोजना गरेको थियो ।