अभिनेता अनमोल केसीले आफूलाई स्क्रिप्ट चित्त नबुझेसम्म कुनै पनि फिल्ममा काम नगर्ने बताएका छन् । सामाजिक सञ्जाल मार्फत उक्त कुरा जानकारी गराउँदै केसीले लेखेका छन्:'होस्टल'बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेदेखि मैले मेकर तथा दर्शकहरूबाट अथाह माया पाइरहेको छु। मैले यो मायालाई आफ्नो अमूल्य सम्पत्ति ठान्छु। त्यसैले कुनै पनि फिल्म गर्नुअघि मैले मेरा दर्शकलाई रिझाउनुपर्छ भन्ने कुरालाई हृदयमा सधैँ राख्ने गरेको छु। त्यसैले म मेरो काम कमजोर नहोस् भन्ने कुरामा सदैव सजग रहने गरेको छु ।मैले यसो गरिरहँदा मैले मेकरको लगानी सुरक्षालाई पनि उत्तिकै ध्यान दिने गरेको छु । म माथि उहाँहरूले गर्ने लगानी केवल आर्थिक अङ्कगणित होइन, एउटा व्यावसायिक विश्वास हो र यो विश्वास भङ्ग हुनुहुँदैन ।मेरो पछिल्लो फिल्मले मलाई ठुलो पाठ सिकाएको छ । कलाकारको धर्म र सजगता पनि के हो राम्रोसँग बुझाएको छ । सबैभन्दा ठुलो पाठ मैले गर्ने सिनेमा के हो र कस्तो हुनुपर्छ भन्ने हो ।म कुनै पनि प्रोजेक्टमा आबद्ध हुँदा कसैको निहित व्यक्तिगत स्वार्थमा उपयोग नहुँ भन्नेमा निक्कै गम्भीर छु, त्यसैले मैले अब फिल्म गर्दा जबसम्म स्क्रिप्टमा मेरो पूर्ण चित्त बुझाइ हुँदैन तब सम्म फिल्म गर्न हतार गर्ने छैन चाहे यसका लागि विलम्ब नै किन नहोस् , अबको मेरो एक मात्र ध्यान भनेको प्रोजेक्ट कसरी राम्रो हुन्छ भन्ने हो, यसका लागि अब म माथि कुनै प्रकारको दबाब वा हतारको प्रभाव हुन्न र हुन दिनेछैन भन्नेमा म दृढ भएको छु ।किनकि मलाई लाग्छ मैले यति गर्नसके भने मात्र म एक सच्चा कलाकार ठहरिनेछु। यसले मलाई व्यक्तिगत रुपमा त राम्रो गर्छ नै म माथि भरोसा गरेर लगानी गर्ने निर्माताहरू माथि पनि भलो नै हुन्छ । यसले सिनेमा निर्माणको व्यावसायिकता र यो क्षेत्र कति घनिभूत छ भन्ने कुरालाई स्थापित गर्छ र यसमा हामी सबै गम्भीर हुन जरुरी छ। नोट : मेरो अब आउने प्रोजेक्टहरू, आधिकारिक पेजबाट घोषणा नभएसम्म! अनाधिकारिक रुपमा, सम्प्रेषण नगरिदिनु हुन विनम्र अनुरोध गर्दछु।धन्यवाद! सुदर्शन थापाको ‘रावायण’ र सुयोग गुरुङको ‘फर्की फर्की’ मा अनमोल अनुबन्धित भैसकेका छन् ।