स्पार्क एड्भेञ्चर २०२३ सुरु भएको छ  । दोलखा र रामेछापको सिमानाको पर्यटकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले 'स्पार्क एड्भेञ्चर २०२३' आयोजना गरेको हो ।

बिहीबार बिहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजा सहित एडभेञ्चरको  उद्घाटन गरिएको छ। उद्घाटनपश्चात २०० जनाभन्दा बढीको टोलीले सैलुङको यात्रा सुरु गरेको हो । 

सय थुम्काहरूको संगम शैलुङ धार्मिक पर्यटकीय क्षेत्र समेत हो । यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट 'हिल स्टेसन' हो  । प्रकृति र पर्यावरणको उत्तम संगम रहेको शैलुङ पर्यटकीय हिसाबले पनि निकै महत्त्वपूर्ण रहेको आयोजकको भनाइ छ । 

'यस पटक शैलुङको पर्यटन प्रवर्द्धन गर्नेछौँ, यहाँको प्रकृति र विशेषताहरूलाई एक्स्प्लोर गर्न हामीले शैलुङलाई यस पटक छानेका हौँ,' स्पार्क ग्रुपका जनरल म्यानेजर पदम पराजुलीले भने ।

प्रचुर पर्यटकीय सम्भावना रहेर पनि चल्तीको गन्तव्य नभएकाले उक्त स्थानको प्रचार प्रसारको लागि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

शैलुङ पुगेपछि स्थानीय संस्कृतिअनुसार स्वागत गरिने कार्यसूची छ । टोली आज साँझ स्थानीय परिकारको खाना खाएर करिब ३५ मिनेट पैदल यात्रा गर्दै क्याम्पिङ टेन्टमा रात बिताउनेछ । 

चौँरी गोठ र त्यहाँको गोठाले जनजीवन समेत अवलोकन गरिने भएकाले कार्यक्रमको नारा 'वाइल्ड स्टे विथ चौँरी' राखिएको छ ।

कार्यक्रममा क्याप्टेन बिजय लामा,  निखिल उप्रेती, गायक यश कुमार, कमेडियन सन्दीप क्षेत्री, लोक गायक प्रेम राजा महत, कलाकार गरिमा शर्मा, लेखक बुद्धिशागर, डा रन्जित बराल, कमेडियन कैलाश कार्की, ट्राभलर सिर्जना सिज्जु, कलाकार स्वानिका बास्तोला लगायतको सहभागिता छ । 

कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी समेत सहभागी छन् । एड्भेञ्चरमा नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली, आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त वादेसँगै चिकित्सक, विभिन्न दूतावासका प्रतिनिधि, कुटनैतिक नियोगका प्रतिनिधि लगायत फरक फरक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

शैलुङतर्फको यात्रा तय गर्दै गर्दा सहभागीहरू निकै उत्साहित छन् । 'साढे तीन दशकदेखि शैलुङमाथिको आकाशमा उड्दै 'वाउ' मात्रै भन्दै आएको थिएँ, अहिले प्रत्यक्ष रूपमा स्थलगत जानका लागि एकदम एक्साइटड छु,' क्याप्टेन लामाले भने । 

अध्यात्म र प्रकृतिसँग रमाउने एक्सन स्टार निखिल उप्रेतीले आफू भगवान बुद्धले टेकेको भूमिमा जान निकै नै उत्साहित भएको बताए  ।

असोज ११ गते बिहान काठमाडौँदेखि सैलुङको यात्रा सुरु गरेको  यश समूहले असोज १२ गते चौँरी गोठ र शैलुङलाई 'एक्सप्लोर' गर्ने आयोजकको भनाइ छ ।  

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ । 

गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार अवलोकन गरेर सुरु भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरी गोठलाई केन्द्रित गर्दै आयोजना गर्न लागिएको हो ।