अभिनेत्री केकी अधिकारीको लगानीमा बन्न लागेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को अफिसल घोषणा गरिएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा चलचित्रको निर्माण घोषणा गरिएको हो । चलचित्र निर्माणमा डेव्यु गर्ने लागेकी केकीको कोहलपुर एक्सप्रेस जुनकिरी आर्टस्को पहिलो प्रस्तुति हो।

‘चलचित्र मेरो सपना र खुसी हो । सपना पुरा गर्दै खुसी भइरहेको छु ।’ कार्यक्रममा बोल्दै केकी भन्छिन् । धेरै पहिला देखि चलचित्र निर्माणको बारेमा सोचेको उनले बताइन् । कोहलपुर एक्सप्रेसमा केकीको साथै भद्रबहादुर शाही, देवीलाल न्यौपाने, शिव प्रसाद चौंलागाईको संयुक्त लगानी रहने छ ।

 

तिन युवतीको यात्रा र त्यसबाट उब्जिने घटनालाई चलचित्रमा देखाउन लागेको केकीले बताएकी छिन् । चलचित्रका कलाकारहरुमा केकी अधिकारी, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराई रहेका छन् । दर्जनौ म्युजिक भिडियो निर्देशन गरेका विशाल भण्डारीले चलचित्रलाई  निर्देशन गर्दै छन् । चलचित्रमा पटकथा र संवाद सान बस्न्यातको रहेको छ भने छायाङ्कन अर्जुन तिवारीले गर्दै छन् । कात्तिक १३ गतेबाट फ्लोरमा जाने चलचित्रमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल, कालीप्रसाद बासकोटाको सङ्गीत रहने छ। निर्माण पक्षको अनुसार चलचित्रको प्रदर्शन यसै वर्षको अन्त्यमा हुन सक्ने बताइएको छ ।