गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’लाई दर्शकले साथ दिइरहेका छन् । हाउसफूल दर्शकको साथ पाइरहेको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रियाहरु पाइरहेको छ । काठमाडौं उपत्यकासहित देशभरका हलमा फिल्म हेर्न दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ ।उपत्यकाका दर्शकसँग भेटेर प्रतिक्रिया लिएपछि कलाकारहरू अब भने मोफसल यात्रामा निस्किने भएका छन् । अभिनेता प्रकाश सपूतसँगै अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटी पश्चिमका ठूला सहरका हल हलमा पुगेर दर्शकको प्रतिक्रिया लिने भएका हुन् । प्रकाश, केकी र वर्षा सोमवार चितवनका हलमा पुग्दैछन् । त्यहाँका दर्शक भेटेर प्रतिक्रिया लिनुका साथै उनीहरूलाई धन्यवाद दिएपछि कलाकारहरू बुटवलका हलमा पुग्नेछन् । त्यसपछि नेपालगञ्ज र पोखराका हलमा पुगेर कलाकारहरू काठमाडौं फर्किनेछन् । नारायण रायमाझीको निर्देशन रहेको ‘परदेशी २’को कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ ।