तेस्रो संस्करणको आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको छ ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेलिगेट्सहरूको सहभागिता रहेको महोत्सव शनिवार दिनभर चलेको थियो । महोत्सवको उद्घाटन उपसभामुख इन्दिरा राना मगरले गरेकी थिइन् भने समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् ।महोत्सवमा नेपाली र विदेशी गरी १३ वटा चलचित्र प्रदर्शन गरिएको थियो । कम्बोडियाको 'सेक्रेट किलर', ट्युनिसियाको 'द नाइट अफ द ब्लाईन्ड मुन', तान्जानियाको 'मुहाली',  किर्गिस्तानको 'सागा अन ओमेन' लगायतका चलचित्रहरूको प्रदर्शन भएको थियो ।महोत्सवकै अवसर पारेर चौथो आइर्वाट लघु चलचित्र प्रतियोगिताका विजेताहरूलाई मन्त्रीको शर्माको उपस्थितिमा पुरस्कार प्रदान गरिएको थियो । महिलाद्वारा निर्देशित ३ देखि १५ मिनेट लामा चलचित्रहरूले सहभागिता जनाएको सो प्रतियोगितामा अनुष्का अर्यालद्वारा निर्देशित 'सङ्कुल' प्रथम भयो । त्यस्तै, अनिता स्याङबो निर्देशित 'वर्थ', श्रेयन राजभण्डारी निर्देशित 'अक्वारियम', पुनम पौडेल निर्देशित 'लिभिङ विथ डिग्निटी' र सरिता शाह निर्देशित 'नोटबुक'ले विशेष लघु चलचित्रको पुरस्कार प्राप्त गरे ।डेलिगेट्सको रूपमा महोत्सवमा सहभागिता जनाउन आइर्वाट भारतकी म्यानेजिङ ट्रस्टी तथा फिल्ममेकर आराधना कोहली कपुर, बङ्गलादेशकी फिल्ममेकर, मानवअधिकारकर्मी तथा पत्रकार सुमी खान, तान्जानियाकी पत्रकार तथा फिल्ममेकर मारियम मोहम्मद हमादी, किर्गिस्तानकी फिल्ममेकर तथा पत्रकार जाम्बी जुजुबालिविभा, आइर्वाट नेपाली संस्थापन वन्दना राणा, आइर्वाट नेपालकी पूर्व अध्यक्ष अनुपा श्रेष्ठ, नेपालकी फिल्म निर्माण सल्लाहकार) प्रसुना डङ्गोल लगायतको उपस्थिति रहेको थियो । महोत्सवमा भएको 'प्यानल डिस्कसन'मा डेलिगेट्सहरूको सहभागिता थियो ।