अभिनेत्री केकी अधिकारीले निर्माण गर्न लागेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को आज आइतबार शुभ मुर्हत गरिएको छ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा निर्माण युनिटले क्यामेरा पूजा गरी चलचित्रको छायाँकनको सुरुवात गरिएको हो । निर्मात्रीको साथै चलचित्रकी मुख्य नायिका रहेकी केकीले सिनेपाटीसँग कुरा गर्दै चलचित्रको छायाङ्कन सुरु भएको बताएकी छिन् । विशाल भण्डारीको निर्देशन रहेको कोहलपुर एक्सप्रेसको छायाङ्कन करिब २५ दिन कोहलपुर, बाँके, नेपालगञ्ज आसपासमा हुने र ५ दिन जति काठमाडाैँमा हुने केकी बताउछिन् ।
एक साता अघि पत्रकार सम्मेलनमा चलचित्रको निर्माण घोषणा गरिएको थियो । चलचित्रमा केकीसँगै प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय रहने छ । चलचित्रमा केकीको साथमा भद्र बहादुर भुजेल र देवीलाल न्यौपानेको लगानी रहेको छ ।