भोलीबाट रिलिजमा आउँदै छ फिल्म `जिग्री´ । रिलिजको दिन नजिकै आउँदा निर्माण टिमले अनौठो अफर दर्शकको लागी ल्याएका छन् । फिल्म ‘जिग्री’ हेर्नुहोस्, टिकटको पुरै फिर्ता पाउनुहोस् । कसरी ? फिल्म हेर्न गएको टिकट सुरक्षित राखी उक्त टिकट मूल्य बराबरको तपाईँले खाजा–खाना निःशुल्क खान सक्नुहुन्छ । वा तपाईँको खाजा–खानाको बिलमा टिकटको मूल्य बराबरको रकम छुट हुनेछ । यसको लागि तपाईँले ‘जिग्री’ ८ गते मङ्गलवारसम्म हेरिसक्नुपर्नेछ । ८ गतेसम्मको टिकटले ११ गते शुक्रवारसम्म वाल नट बिस्ट्रोबाट १००% पैसा फिर्ता अफर पाउनुहुनेछ । त्यस मितिपछि सो अफर दाबी गर्न पाइने छैन । सेन्सर पास भैसकेको फिल्मलाई आकाश मगरले निर्देशन गरेका हुन् । `जिग्री´ वर्तमान समयको आम नेपाली दुई युवाहरूको कथा हो । ती युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष फिल्मको मुख्य विषय बस्तु रहेको छ । सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको फिल्मका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् ।
कमेडी–क्राइम–एक्सन-ड्रामाको मिश्रण रहेको फिल्ममा मुख्य कलाकारहरू अभय राज बराल , आकाश मगर , सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ।